हिमाली आवाज । बढ्दो कार्यचाप, निरन्तरको समयसीमा र मानसिक तनावबीच काम गरिरहेका पत्रकार तथा सञ्चारकर्मीको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा सञ्चारकर्मीलाई मानसिक सन्तुलन, सकारात्मक सोच, ध्यान (मेडिटेसन) र आत्मिक सशक्तीकरणका विविध पक्षबारे प्रशिक्षण दिइएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले दैनिक रूपमा उच्च कार्यचाप, मानसिक तनाव र जटिल परिस्थितिको सामना गर्नुपर्ने भएकाले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले ध्यान र वेलनेस हिलिङलाई नियमित जीवनशैलीको हिस्सा बनाउन सके मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता तथा कार्यदक्षतामा उल्लेखनीय वृद्धि हुने बताउनुभयो। उहाँका अनुसार स्वस्थ मनले मात्रै सत्य, सन्तुलित र जिम्मेवार सञ्चार सम्भव हुन्छ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाकी सञ्चालिका ब्रह्माकुमारी पुनम दिदीले पत्रकारहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूको मानसिक, आत्मिक र भावनात्मक स्वास्थ्य सुदृढ हुनु आवश्यक रहेको बताउनुभयो। उहाँले सञ्चारिका समूहसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै पत्रकार लक्षित यस्ता कार्यक्रम विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले पत्रकारिता पेशामा बढ्दो मानसिक दबाबलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै मानसिक स्वास्थ्य संरक्षणमा केन्द्रित रचनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
प्रशिक्षणका क्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई ध्यान अभ्याससमेत गराइएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य प्रवर्द्धन, आत्मिक सशक्तीकरण तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमले पत्रकारहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै सकारात्मक सोच, आत्मिक शान्ति र जिम्मेवार सञ्चार संस्कृतिको विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष कञ्चन थापाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
