अन्नपूर्णमा पूर्व विद्यार्थी मञ्चद्वारा निःशुल्क आँखा शिविर, ५०० जनाले लिए सेवा

हिमाली आवाज ।  अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित श्री माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा पूर्व विद्यार्थी मञ्चको आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।विद्यालय तथा क्याम्पसमा अध्ययन गरी विभिन्न क्षेत्रमा सक्रिय पूर्व विद्यार्थीहरू आबद्ध पूर्व विद्यार्थी मञ्चले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गरी शिविर आयोजना गरेको हो।

अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, हिमालयन आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोग तथा माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको स्थानीय व्यवस्थापनमा सञ्चालित शिविरबाट करिब ५०० जनाले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।

शिविरमा आँखा परीक्षणका क्रममा १६ जना विद्यार्थीलाई आवश्यक पावरअनुसार निःशुल्क चश्मा उपलब्ध गराउन हिमालयन आँखा अस्पतालमा सिफारिस गरिएको छ। त्यस्तै, ६ जना अभिभावकमा मोतियाविन्दुको समस्या देखिएपछि निःशुल्क शल्यक्रियाका लागि अस्पतालमा रिफर गरिएको आयोजकले जनाएको छ।

शिविरमा आवश्यकताअनुसार औषधि वितरण गर्नुका साथै अभिभावकलाई पढ्नका लागि आवश्यक पावरका चश्मासमेत निःशुल्क वितरण गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारी देवकोटाले पूर्व विद्यार्थी मञ्चले विद्यालय र समुदायको हितमा महत्वपूर्ण र रचनात्मक काम गरेको बताइन्। उनले विभिन्न पक्षसँग आवश्यक समन्वय गरी शिविर सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिइन्।

६ जना अभिभावकको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया र १६ जना विद्यार्थीलाई निःशुल्क चश्माको व्यवस्था हुनु सामान्य उपलब्धि नभएको बताउँदै उपाध्यक्ष देवकोटाले यसबाट आर्थिक रूपमा विपन्न परिवारलाई प्रत्यक्ष राहत पुगेको उल्लेख गरिन्।

कार्यक्रमका सभापति तथा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष फणिन्द्र प्रसाद अधिकारीले कार्यक्रम पूर्व विद्यार्थी मञ्चको आयोजनामा भए पनि यो सबैको साझा कार्यक्रम भएको बताए। उनले मञ्चले आगामी दिनमा पनि वर्षेनी कुनै न कुनै रचनात्मक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

निःशुल्क आँखा परीक्षण, मोतियाविन्दुको शल्यक्रिया तथा विद्यार्थीलाई चश्माको व्यवस्थाले अभिभावकको उपचार तथा स्वास्थ्यसम्बन्धी खर्चमा समेत बचत भएको उल्लेख गर्दै अध्यक्ष अधिकारीले यसलाई कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए।

पूर्व विद्यार्थी मञ्चले २०६४ सालदेखि विभिन्न रचनात्मक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। फणिन्द्र प्रसाद अधिकारीको नेतृत्वमा मञ्चले विद्यालय र समुदायलाई लक्षित गर्दै थप सेवामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य लिएको जनाएको छ।

कार्यक्रमको सञ्चालन मञ्चका महासचिव हरिप्रसाद भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक एवं मञ्चका सदस्य भीमप्रसाद भण्डारीले राखेका थिए।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल, अन्नपूर्ण गाउँपालिका–२ का अध्यक्ष पिताम्बर भण्डारी, पूर्व विद्यार्थी मञ्चका निवर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी, संस्थापक अध्यक्ष गिरीदारी दाहाल, पूर्व अध्यक्ष गायत्री अधिकारी पराजुली, क्याम्पस प्रमुख लोकराज भण्डारी, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।

शिविर सम्पन्न भएपछि मञ्चका कोषाध्यक्ष कमला पौडेल सुवेदी तथा सदस्यहरू कृष्णप्रसाद भण्डारी, शोभाखर अधिकारी र हरिराम भण्डारीको उपस्थितिमा कार्यक्रमको समीक्षा बैठकसमेत सम्पन्न भएको थियो।

Comments
Loading...