हिमाली आवाज ।पोखराको सहारा फुटवल एकेडेमीको सहयोगार्थ पोखरामा हाइकिङ हुने भएको छ । पोखरा महानगरपालिका–९ को कार्यालयको समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा पोखरामा आउँदो शनिबार स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित सहारा फुटवल एकेडेमीको सहयोगार्थ ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको क्लवले जनाएको छ ।
पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु भई पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्ने गरी हाईकिङको यात्रा तय गरिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो । प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उहाँले जनाउनु भयो ।
कार्यक्रमबाट संकलित रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगमा प्रयोग गरिने भएको क्लवले जनाएको छ । सहारा एकेडेमीमा हाल पोखरा–१७ दोबिल्लास्थित एकेडेमीमा विभिन्न १६ जिल्लाका ३० जना बालकहरु आबद्ध भई फुटबल प्रशिक्षण लिइरहनु भएको छ । सामाजिक सेवाको यस अभियानमा पोखरा महानगरपालिका वडा नम्बर ९, तमुधीं यूके, सहारा यूके, एन्फा कास्की लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोग रहेको सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी दिनुभयो । उक्त अभियानलाई सफल पार्न सहयोग गर्नुहुने प्रति उहाँले अग्रिम रुपमा धन्यवाद दिनु भएको छ ।
हालसम्म हाइकिङका लागि करिब १ सय ५० जनाको नाम दर्ता भइसकेको र थप सहभागीलाई समेट्ने तयारी भइरहेको कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो । आयोजकले करिब ३ सय जनासम्म सहभागी गराउने लक्ष्य राखेको छ । सहारा क्लब पोखराले लामो समयदेखि सामाजिक सेवाका विभिन्न गतिविधिसँगै सहारा फुटबल एकेडेमी तथा आहा रारा पोखरा गोल्डकप सञ्चालन गर्दै आएको छ ।
क्लबको सामाजिक योगदानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले महानगरपालिका–९ को सहकार्यमा हाइकिङ आयोजना गर्न लागिएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । “मानव जीवनमा स्वास्थ्य अत्यन्त महत्वपूर्ण विषय हो । कम्तीमा एक दिन भए पनि शारीरिक व्यायाम गरौँ भन्ने सन्देश दिनुका साथै सामाजिक सेवामा योगदान गर्ने उद्देश्यले हाइकिङ आयोजना गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।
हाइकिङले पोखराका पर्यटकीय तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धनसँगै स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने र सामाजिक सेवामा नागरिकको सहभागिता बढाउने अपेक्षा गरिएको छ । “आशा, करुणा र उज्ज्वल भविष्यका लागि सँगै हिँडौँ भन्ने भावना सहित आयोजना हुन लागेको यस अभियानमा सबै क्षेत्रका नागरिकलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ । उक्त कार्यक्रम सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर ९ ले २ लाख, तमु धिँ यूकेबाट २ लाख, कास्की जिल्ला फुटवल संघ (एन्फा कास्कि) बाट ५० हजार, सहारा क्लवका मानार्थ सदस्य तथा सहारा यूकेका पूर्व अध्यक्ष एमबीई दिपीलकुमार गुरुङले २५ हजार, सहारा युकेका निर्वतमान अध्यक्ष कृष्णकुमार गुरुङबाट १० हजार, क्लवका आजीवन सदस्य मनोज गुरुङबाट १० हजार सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।
तमु धिँ यूकेका अध्यक्ष जुमकाजी गुरुङले सहारा क्लवले कठिनपरिस्थिती र विपन्न बर्गका लागि निस्वार्थ भावले संचालित सहारा एकेडेमीको सहयोगार्थ आयोजना गरिएको हाईकिङ कार्यक्रमलाई सफल पार्न आफुहरुले सानो सहयोग गरेको बताउनु भयो ।
रोजगारको शिलशिलामा हाल विदेशमा आफुहरु भएता पनि स्वदेश प्रतिको माया र सदभाव सधै रहिरहने उल्लेख गर्दै उहाँले विगतदेखि सामाजिक कार्यमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दीनमा समेत निरन्तरता दिने जनाउनु भयो । एन्फा कास्कीका अध्यक्ष उज्जवल रन्जितले सहारा क्लवले निरन्तर फुटवल खेल विकासको लागि सहित सामाजिक कार्यमा लाग्दै आएकोले क्लवलको कार्यप्रति प्रोत्साहन गर्न उक्त सहयोग गरेको बताउनु भयो । उक्त कार्यक्रमलाई सफल पार्न खेलकुदकर्मीहरुमा उहाँले आग्रह गर्नुभयो ।
