‘डिजिटल अधिकारको उपयोग गर्दा सचेत नभए गम्भीर जोखिम निम्त्याउँछ’

हिमाली आवाज । तीव्र गतिमा विकसित भइरहेको डिजिटल सूचना प्रणालीको सुरक्षित, जिम्मेवार र व्यावसायिक प्रयोगमा पत्रकारहरू सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

डिजिटल राइट्स नेपालको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘डिजिटल अधिकार र प्रेस स्वतन्त्रता’ सम्बन्धी दुईदिने तालिममा डिजिटल प्रविधि र प्लेटफर्मको प्रयोगसँगै पत्रकारको डिजिटल सुरक्षा र अधिकार संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइएको हो ।

तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सञ्चारका डिजिटल प्लेटफर्ममा समेत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । उहाँले डिजिटल अधिकारको उपयोग गर्दा आवश्यक सावधानी अपनाउन नसके त्यसले गम्भीर जोखिम निम्त्याउन सक्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो,“सरकारले अहिलेको वर्षलाई कानुन बनाउने वर्ष भनेको छ । वर्तमान संविधान जारी भएपछि मिडियासम्बन्धी कानुनहरू बन्ने क्रममा छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले ग्यारेन्टी गरेको छ । अहिले डिजिटल युगमा हामीसँग हरेक प्रकारका प्लेटफर्म छन्, त्यसमा पनि स्वतन्त्रता आवश्यक छ । पत्रकारले डिजिटल अधिकारबारे जान्नु, आफू सुरक्षित हुनु र आफूले प्रयोग गर्ने प्लेटफर्मलाई सुरक्षित बनाउन सक्दा मात्र नागरिकको अधिकारसमेत संरक्षण गर्न सक्छौँ ।”
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संकुचन हुन नदिन तथा नागरिकको अधिकार सुनिश्चित गर्न महासंघले निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र कास्की शाखाका अध्यक्ष माधव बरालले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट गलत सूचना र भ्रामक सामग्री फैलिन नदिन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उ

हाँहरूले नागरिकलाई सही सूचना उपलब्ध गराउँदै डिजिटल माध्यमको जिम्मेवार प्रयोगका लागि सचेत गराउनु सञ्चारकर्मीको दायित्व भएको उल्लेख गर्नुभयो ।
डिजिटल राइट्स नेपालका सन्तोष सिग्देलले डिजिटल अधिकार संरक्षणका लागि डिजिटल सुरक्षा महत्वपूर्ण विषय भएकाले संस्थाले सन् २०२० देखि डिजिटल सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका २२ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा डिजिटल अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक, गोपनीयता, डिजिटल सुरक्षा तथा साइबर सुरक्षालगायत विषयमा ज्ञान र सीप प्रदान गरिने आयोजकले जनाएको छ ।

Comments
Loading...