वनस्पति विज्ञानका विविध पक्षबारे पोखरामा विशेष छलफल

हिमाली आवाज ।  वनस्पति विज्ञानका विविध पक्ष, अनुसन्धानका सम्भावना तथा वनस्पति संरक्षणका विषयमा पोखरामा विशेष छलफल तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ। बोटानिकल सोसाइटी अफ नेपाल (BSON) को १०औँ स्थापना दिवसका अवसरमा बोटानिकल सोसाइटी अफ नेपाल, गण्डकी प्रदेश र पृथ्वीनारायण क्याम्पस, वनस्पति शास्त्र विभागको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

पृथ्वीनारायण क्याम्पसको विज्ञान भवनस्थित सेमिनार हल, कक्ष नं. १४७ मा आयोजित कार्यक्रममा नारायणदत्त बस्ताकोटीको अध्यक्षता रहेको थियो। कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. विजयबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने वनस्पति विज्ञानका वरिष्ठ विज्ञ प्रा. डा. चन्द्रबहादुर थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। बाबुराम के.सी.ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने रुना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वनस्पति विज्ञानसँग सम्बन्धित विभिन्न अनुसन्धान, अनुभव तथा उपलब्धिमूलक प्रस्तुतीकरणहरू समेत प्रस्तुत गरिएका थिए। डा. होमनाथ पाठकले आफ्नो अनुसन्धानमा आधारित “Floristic Diversity of Lake Cluster of Pokhara Valley” विषयमा प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले पोखरा उपत्यकाका तालसमूहमा पाइने वनस्पति विविधता, यसको अध्ययन तथा अनुसन्धानको महत्वबारे जानकारी दिनुभएको थियो।

त्यसैगरी डा. शिव देवकोटाले जंगली च्याउ (Wild Mushroom) तथा यसको सम्भावना विषयमा प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले जंगली च्याउका विविध प्रजाति, यसको उपयोगिता तथा नेपालमा यसको अध्ययन, संरक्षण र सम्भावित आर्थिक उपयोगका क्षेत्रबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि प्रा. डा. चन्द्रबहादुर थापाले आफ्नो लामो शैक्षिक तथा अनुसन्धान यात्रामा हासिल गरेका अनुभव, संघर्ष र उपलब्धिहरू समेटिएको ‘सफलताको कथा (Success Story)’ प्रस्तुत गर्नुभएको थियो। उहाँको प्रस्तुतीकरणले वनस्पति विज्ञानको अध्ययन, अनुसन्धान तथा व्यावसायिक क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थी र युवा अनुसन्धानकर्तालाई प्रेरणा प्रदान गरेको थियो।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसको वनस्पति शास्त्र विभागका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले वनस्पति विज्ञानको वर्तमान अवस्था, अनुसन्धानका सम्भावना, जैविक विविधताको संरक्षण तथा वनस्पति स्रोतको दिगो उपयोगका विषयमा कार्यक्रमलाई महत्वपूर्ण अवसरका रूपमा लिएका थिए।

आयोजकका अनुसार कार्यक्रमले नेपालमा वनस्पति विज्ञानको अध्ययन तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउन वनस्पति विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीबीच ज्ञान, अनुभव तथा अनुसन्धानका उपलब्धि आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चको भूमिका खेलेको छ।

बोटानिकल सोसाइटी अफ नेपालको १०औँ स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले वनस्पति विज्ञानको विकास, अनुसन्धान र संरक्षणप्रति थप जागरुकता सिर्जना गर्नुका साथै यस क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न समेत योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

Comments
Loading...