सार्दिखोला सहकारीका सिइओ आचार्यलाई गण्डकी प्रदेशकै उत्कृष्ट व्यवस्थापक सम्मान

हिमाली आवाज । सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज आचार्य गण्डकी प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापकका रूपमा सम्मानित हुनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९औँ स्थापना दिवसका अवसरमा पोखरामा आयोजित विशेष कार्यक्रममा उहाँलाई उत्कृष्ट व्यवस्थापकका रूपमा सम्मान गरिएको हो ।

सहकारी क्षेत्रमा व्यवस्थापकीय दक्षता, संस्थागत विकास, सदस्य सेवा तथा कार्यसम्पादनमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै आचार्यलाई सम्मान गरिएको नेफ्स्कूनले जनाएको छ ।

सम्मान ग्रहण गर्दै आचार्यले प्राप्त सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सञ्चालक समिति, सदस्य, कर्मचारी तथा परिवारको सामूहिक मेहनत, विश्वास र सहयोगको सम्मान भएको बताउनुभयो । उहाँले आगामी दिनमा सहकारीको संस्थागत विकास, सुशासन, पारदर्शिता तथा सदस्यकेन्द्रित सेवाका लागि थप जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले गर्नुभएको थियो भने गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भिमबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्व, संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो ।

सोही अवसरमा नवलपुरमा अवस्थित पौरखी बचत तथा ऋण सहकारी संस्थालाई गण्डकी प्रदेशभर उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान गरिएको थियो । त्यस्तै, स्याङ्जा जिल्ला बचत तथा ऋण सहकारी संघलाई उत्प्रेरणा अभिनन्दन सम्मान प्रदान गरिएको थियो ।नेफ्स्कूनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले सहकारी क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्नुका साथै सहकारी अभियानलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रेरणा प्रदान गरेको जनाइएको छ ।

Comments
Loading...