पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिन शोभा गौतम प्यानल सहित मैदानमा

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको यही भाद्र २० र २१ गते सम्पन्न हुने ७२ औं साधारण सभा तथा ३६ औं महाधिवेशनका लागि अध्यक्षका आकांक्षी शोभा गौतमको प्यानल घोषणा भएको छ ।

आज शुक्रबार बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गौतमको प्यानल घोषणा गरिएको हो । गौतम हाल संघको महासचिबको जिम्मेवारीमा छिन। ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा’ नारा सहित गौतमले आंफ्नो प्यानल घोषणा गर्नुभयो ।
गौतमको प्यानलको वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिवमा यादव पोखरेल हुनुहुन्छ ।
प्यानल घोषणा गर्न आयोजित कार्यक्रममा अध्यक्षका उमेदवार गौतमले एकताबद्ध भई निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति अनुरूप प्यानल सहितको उम्मेदवारी घोषणा गरिएको बताउनुभयो ।
उहाँले पोखरा उद्योग वाणिज्य संघ पोखराको सामाजिक, आर्थिक तथा व्यावसायिक विकासको यात्रामा विगत सात दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको गौरवशाली संस्था रहेको र संघले सम्पूर्ण उद्योगी–व्यवसायीको हकहितको संरक्षण गर्न अध्यक्षमा उम्मेदवारी घोषणा गरिएको बताउनुभयो ।
आँफुहरुको प्यानल अनुभव र ऊर्जाको संयोजन भएको साथै समावेशी, जुझारु र प्रतिबद्ध टिम रहेको पनि गौतमको भनाई छ । उद्योग, व्यापार, पर्यटन, महिला उद्यमशीलता, युवा व्यवसायी लगायत निजी क्षेत्रका विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्वलाई समेट्दै संघलाई नयाँ गति र दिशा दिन प्रयास गर्ने भन्दै उनले बदलिँदो आर्थिक परिवेश, प्रविधिको तीव्र विकास तथा उद्योगी–व्यवसायीले भोगिरहेका नयाँ चुनौतीलाई सम्बोधन गर्न अबको नेतृत्व सक्षम, सक्रिय र परिणाममुखी हुनुपर्ने बताइएको थियो ।

गौतमको प्यानलले उद्योगी,व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने, युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवद्र्धन गर्ने, लगानीमैत्री वातावरण निर्माणका लागि सरकार तथा सम्बन्धित निकायसँग प्रभावकारी सहकार्य र पैरवी गर्ने, पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग–व्यवसायसँग जोड्ने, संघलाई प्रविधिमैत्री, आधुनिक, पारदर्शी र अझ प्रभावकारी संस्थाका रूपमा विकास गर्ने, साना, मझौला तथा ठूला सबै उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा संघलाई स्थापित गर्ने, निजी क्षेत्रको सम्मान, सुरक्षा र व्यावसायिक अधिकारका लागि सशक्त रूपमा पैरवी गर्ने जस्ता एजेन्डालाई अगाडी सारेको छ।

संघमा यसपटक शोभासहित कुल ४ जनाले नेतृत्वमा आकांक्षा राखेका छन् । आकांक्षी अर्जुन पोखरेल, उत्तम बुद्धाचार्य र बलराम आचार्यले अहिलेसम्म प्यानल भने सार्वजनिक गर्नुभएको छैन । विसं २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन् । भदौ ५ गते अर्थात आज उमेदवारहरूले मनोनयन पत्र लिएका छन् भने ८ गते उमेदवारले मनोनयन पत्र दाखिला गर्नुपर्नेछ ।

Comments
Loading...