हिमाली आवाज । नेपाल हेभी इक्युपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघ केन्द्रको विशेष महाधिवेशन तथा सम्मान कार्यक्रम–२०८३ मा कास्की अपरेटर संघ देशभरका ७७ जिल्लामध्ये उत्कृष्ट जिल्ला घोषित हुँदै सम्मानित भएको छ।
उत्कृष्ट कार्यसम्पादन, संस्थागत सक्रियता तथा धेरै सदस्य रहेको जिल्लाका आधारमा कास्की अपरेटर संघलाई उत्कृष्ट जिल्ला छनोट गरी सम्मान प्रदान गरिएको संघले जनाएको छ। सोही कार्यक्रममा सात प्रदेशमध्ये गण्डकी प्रदेश पनि उत्कृष्ट प्रदेशका रूपमा सम्मानित भएको छ।

कास्की अपरेटर संघका अध्यक्ष किशोर प्रसाद गौतमले उक्त सम्मान संस्थाको मात्र नभई सम्पूर्ण सदस्यहरूको सामूहिक मेहनत, एकता र समर्पणको प्रतिफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“यो सम्मान वर्तमान कार्यसमितिको मात्रै उपलब्धि होइन, हाम्रो संस्थाका संस्थापक पदाधिकारी, पूर्व तथा निवर्तमान पदाधिकारी, आजीवन सदस्य, सल्लाहकार, साधारण सदस्य, सहयोगदाता र शुभेच्छुक सबैको साझा उपलब्धि हो । उहाँहरूले प्रदान गर्नुभएको विश्वास, मार्गदर्शन, सहयोग र हौसलाकै कारण हामी देशभरका ७७ जिल्लामध्ये उत्कृष्ट जिल्ला बन्न सफल भएका हौँ।”
संघका सचिव कृष्ण प्रसाद पौडेलले प्राप्त सम्मानले कास्की अपरेटर संघलाई आगामी दिनमा अझ जिम्मेवार, प्रतिबद्ध, इमानदार र प्रभावकारी ढंगले काम गर्न थप प्रेरणा मिलेको बताउनुभयो । “आगामी दिनमा पनि सबैको साथ, सहयोग र सुझावका साथ संस्थालाई अझ उत्कृष्ट र व्यवस्थित बनाउँदै लैजाने हाम्रो दृढ प्रतिबद्धता छ।”पौडेलले भन्नुभयो ।
संघले उत्कृष्ट जिल्ला छनोट गरी सम्मान प्रदान गर्ने नेपाल हेभी इक्युपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघ केन्द्रप्रति पनि हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।
