‘मनोहरा सिग्देल’ स्मृति पर्यटन पुरस्कार थापालाई

हिमाली आवाज । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले यस वर्षको ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ जिरो पोइन्ट ट्राभल्स एन्ड टुर्सका सिनियर टिकटिङ अफिसर सुजन थापालाई प्रदान गर्ने भएको छ।

नाट्टा गण्डकीको ३१औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनको अवसरमा आगामी भदौ १० गते आयोजित कार्यक्रममा थापालाई पुरस्कार प्रदान गरिनेछ। पुरस्कारअन्तर्गत रु. १० हजार नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिने नाट्टा गण्डकीले जनाएको छ।

नाट्टा गण्डकीका पूर्वअध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी ममतामयी माता स्व. मनोहरा सिग्देलको स्मृतिमा स्थापना गर्नुभएको रु. १ लाख ११ हजारको अक्षयकोषबाट हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आइएको हो। नाट्टा गण्डकीका सदस्य कम्पनीहरूमा लामो समयदेखि इमानदारी, समर्पण र कुशलतापूर्वक कार्यरत एक जना कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो।

नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष राजेश पहारीको संयोजकत्वमा गठित छनोट समितिको सिफारिस तथा बोर्ड बैठकको निर्णयअनुसार यस वर्ष थापालाई पुरस्कारका लागि छनोट गरिएको हो।

स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका–७ मा जन्मेर हुर्किएका थापा सन् २०१४ मे २८ देखि जिरो पोइन्ट ट्राभल्स एन्ड टुर्समा निरन्तर कार्यरत छन्। पर्यटन क्षेत्रमा टिकटिङ सेवामार्फत उनले देखाएको इमानदारी, लगनशीलता र निरन्तर योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ।

पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीको योगदानलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कारबाट यसअघि देवराज देवकोटा, अशोक पौडेल, निराजन कुँवर, रामप्रसाद दुवाडी र चिरञ्जीवी काफ्ले सम्मानित भइसक्नुभएको छ ।

Comments
Loading...