रसुवा भोटेकोशी बाढी: पोखराका १० सहित १४ जना सम्पर्कविहीन

हिमाली आवाज । रसुवामा बुधबार विहान आएको बाढी तथा प्राकृतिक विपद्पछि पोखराका १० जना व्यक्ति सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीमा प्राप्त जानकारीका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण सङ्कलन गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

सम्पर्कविहीन हुनेमा महिला र पुरुष समान पाँच÷पाँच जना रहेका छन् । पोखरा–१७ की सविना पौडेल, पोखरा–१५ का छम प्रकाश थापा र मनु बुढा, पोखरा–५ की सृष्टि बास्तोला, पोखरा–६ का अभिषेक आचार्य, पोखरा–१२ का लिला बहादुर थापा र सुमन श्रेष्ठ, पोखरा–१५ की देवी कुमारी गुरुङ, पोखरा–१३ की विनु गुरुङ तथा पोखरा–१४ का गोविन्द बहादुर अधिकारी रसुवाबाट सम्पर्क विहिन भएका छन् ।

त्यस्तै स्थायी ठेगाना धनगढीमाई नगरपालिका सिराहाका आनन्द कुमार महतो, सिन्धुलीका प्रविन पुर्जा, काठमाडौंका भएका राजेश शर्मा र प्रमिला पाठक पनि सम्पर्कविहीन भएको भन्दै खोजीका लागि आफन्तले प्रशासनमा निवेदन दिएको सहायक प्रजिअ बरालले बताउनुभयो । बेपत्ता भएकाहरु रोजगारी, तीर्थयात्रा लगायतका कामका लागि गएकाहरु रहेको बताइन्छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीबाट रसुवा, नुवाकोट, धादिङ लगायत बाढी प्रभावित विभिन्न क्षेत्रमा रोजगारी, व्यापार व्यवसाय तथा अन्य कामकाजको सिलसिलामा गई विपद् पश्चात हालसम्म आफन्तको सम्पर्कमा नआएका कोही भएमा हुलिया सहित प्रहरीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Comments
Loading...