पोखरा । रसुवामा हालै आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले पोखरा महानगरपालिका–३१, बेगनासस्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।
सहकारीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
रसुवामा आएको बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहकारीले प्रभावित परिवारप्रति हार्दिक समवेदना तथा सहानुभूति प्रकट गरेको छ। प्राकृतिक विपत्तिका कारण संकटमा परेका नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको सहकारीले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा सबै पक्ष एकजुट भएर प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्नुपर्नेमा सहकारीले जोड दिएको छ। साथै, बाढी तथा पहिरोपीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्य तथा विभिन्न संघसंस्था र व्यक्तिहरूले गरिरहेको सहयोगमा सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नसमेत अपिल गरेको छ।
सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा संकटका बेला प्रभावित नागरिकको सहयोगमा निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ।
