हिमाली आवाज । भोटेकोशी तथा रसुवा क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि सहारा क्लब पोखराले १ लाख ५० हजार ६ सय ४२ सहयोग गरेको छ। क्लबले आफ्नो तर्फबाट ५० हजार तथा क्लबका पदाधिकारी, सदस्य र क्लब परिवारबाट संकलित १ लाख ६ सय ४२ गरी कुल १ लाख ५० हजार ६ सय ४२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो।
क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार देशमा प्राकृतिक विपत्ति आइपरेका बेला पीडित नागरिकको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले क्लबका सदस्य तथा परिवारलाई सहयोगका लागि आह्वान गरिएको थियो। उक्त आह्वानमा क्लबका ३१ जना सदस्यबाट रकम संकलन भएको हो।
सदस्यहरूबाट संकलित रकममध्ये फोटो पत्रकार तथा क्लब सदस्य सुदर्शन रञ्जितले १६ हजार ९ सय सहयोग गर्नुभएको छ। त्यस्तै क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले रु १० हजार ५, रामजी कार्कीले रु ५ हजार ३ सय ३३, चन्द्रवती गुरुङले रु ५ हजार ५ सहयोग गर्नुभएको छ।
त्यसैगरी अध्यक्ष केशबबहादुर थापा, बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, राजकुमार गुरुङ (अर्जुन), अशोक लालचन, पुनम राना मगर, आमिर श्रेष्ठ र श्याम गुरुङले जनही रु ५ हजार सहयोग गर्नुभएको छ।
यसरी ३१ जना सदस्यबाट संकलित कुल रु १ लाख ६ सय ४२ र क्लबको तर्फबाट प्रदान गरिएको रु ५० हजार गरी रु १ लाख ५० हजार ६ सय ४२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो।
क्लबका अध्यक्ष केशबबहादुर थापाले देशमा विपत्ति परेको समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले क्लबको तर्फबाट सहयोग गरिएको बताउनुभयो। उहाँले विपत्तिका समयमा राज्यका राहत तथा उद्धार प्रयासमा नागरिक समाज र सामाजिक संस्थाको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
सहारा क्लब पोखराले सामाजिक सेवाका साथै खेलकुद तथा युवा विकासका क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबअन्तर्गत सञ्चालित सहारा एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालकहरू सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीमा आवासीय रूपमा रहेर फुटबल प्रशिक्षण लिइरहेका छन्।
सामाजिक सेवामा सक्रिय सहारा क्लबले प्राकृतिक विपत्ति, विपन्न तथा असहाय नागरिकको सहयोगसँगै युवा खेलाडीको विकास र संरक्षणलाई समेत आफ्नो सामाजिक दायित्वका रूपमा अघि बढाउँदै आएको छ।
