नेपाल निर्माण व्यवसायी संघ कास्कीले बाढी पीडितलाइ गर्याे एक लाख २५ हजार बढी सहयोग

 हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले भोटेकोशी बाढीपछि उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु एक लाख २५ हजार ५५५ सहयोग गरेको छ ।

विपदका् समयमा पीडित परिवारका लागि राहत होस् भनेर सो सहयोग गरिएको संघका सचिव डम्बरराज ढकालले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि कास्की संघले सो सहयोग गरेको हो ।

संघका अध्यक्ष लिलकाजी गुरुङले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा स्वास्थ्य उपचारलाई थप चुस्त बनाउनका लागि सहयोग प्रदान गरिएको बताउनुभयो । उहाँले सम्बन्धित सबै सरकारी निकायलाई प्रभावकारी उद्धारका लागि समेत आग्रह गर्नुभयो ।

विपद्को समयमा दुःखलाई शक्तिमा बदल्दै आपसी सहयोग र समन्वयमा जुट्न आग्रह गर्दै महासंघले सम्भव भएसम्म आफ्ना यन्त्र–उपकरणसहित निर्माण श्रमिक, मजदुर तथा अन्य जनशक्तिलाई उद्धार कार्यमा परिचालन हुन निर्माण व्यवसायीलाई आह्वान गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

“ यस्तो विपद् सामना गर्नु कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र जिम्मेवारी होइन । सबै नागरिकको साझा दायित्वका रूपमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था र आम नागरिक लाग्नु आवश्यक छ ।” अध्यक्ष गुरुङले भन्नुभयो ।

Comments
Loading...