हिमाली आवाज । देशका विभिन्न जिल्लामा विनाशकारी बाढी र डुबानले जनधनको ठूलो क्षति पुर्याइरहेका बेला मादी गाउँपालिका–७, छाचोक (छजो) तमु समाजले पनि विपद्पीडितको दुःखमा साथ दिएको छ। समाजले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. एक लाख सहयोग गरेको हो।
२०८३ साल भदौ १० गते आएको विनाशकारी बाढी तथा डुबानका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत देशका विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै छाचोक तमु समाज (छजो)ले आफ्नो कोषबाट उक्त रकम सहयोग उपलब्ध गराएको जनाएको छ।
विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रु. एक लाख प्रदान गरिएको समाजले जनाएको छ। प्राकृतिक विपद्का कारण घरबार, सम्पत्ति तथा अन्य भौतिक संरचना गुमाएका नागरिकको पीडामा साथ दिन समाजले आफ्नो कोषबाट सहयोग रकम उपलब्ध गराएको हो।
विपद्को कठिन घडीमा प्रभावित परिवारको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै समाजले आगामी दिनमा समेत आवश्यकताअनुसार मानवीय सेवामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित विपद्मा परेका नागरिकलाई सहयोग गर्ने छाचोक तमु समाजको कदमलाई प्रशंसनीय मानिएको छ। बाढीपीडितको दुःखमा साथ दिँदै समाजले देखाएको सहयोग, सद्भाव र मानवीय संवेदनाले अन्य व्यक्ति तथा संघसंस्थालाई समेत विपद्को समयमा सहयोगका लागि प्रेरित गर्ने विश्वास गरिएको छ।
हाल विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यसँगै विभिन्न संघसंस्था, समुदाय तथा नागरिकस्तरबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
