हिमाली आवाज । राष्ट्रिय विपत्तिको घडीमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार पीडित नागरिकको सहयोगमा हातेमालो गर्नुपर्ने सन्देश दिँदै पोखराको नयाँबजारस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढीपीडितका लागि रु. एक लाख ११ हजार १११ सहयोग गरेको छ।
सहकारीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार जम्मा गरेको जनाएको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको सहकारीले जनाएको छ।
सहकारीका अध्यक्ष राजेश रानाभाटले राष्ट्रिय विपत्तिका बेला पीडित नागरिकको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताउनुभयो।
“विपद्ले धेरै नागरिकको जीवन र परिवारमा गम्भीर असर पुर्याएको छ। यस्तो कठिन परिस्थितिमा राज्यको मात्र नभई समाजका हरेक व्यक्ति, संघसंस्था र समुदायले आफ्नो क्षमता अनुसार सहयोगमा हातेमालो गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “उन्नति सहकारीले पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पीडित नागरिकको राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुग्ने विश्वासका साथ यो रकम प्रदान गरेको हो।”
महाप्रबन्धक एवं कार्यालय प्रमुख भगवान भट्टराईले विपद्का बेला सहयोग र सद्भावको भावना सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै सहकारीले सदस्य तथा समुदायप्रतिको दायित्वलाई सधैं प्राथमिकतामा राख्दै आएको बताउनुभयो।
“सहकारी केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, समुदायको सुख–दुःखमा साझेदार बन्ने सामाजिक संस्था पनि हो,” उहाँले भन्नुभयो, “राष्ट्रिय विपत्तिको यस घडीमा सबैले आफ्नो क्षमता अनुसार सक्दो योगदान गर्नुपर्छ भन्ने सन्देश दिन र पीडित परिवारको राहतमा थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हौं।”
उन्नति बचत तथा ऋण सहकारी संस्थाले विपद्पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यसँगै विभिन्न सामाजिक संघसंस्था र नागरिकस्तरबाट भइरहेको सहयोगमा आफ्नो तर्फबाट ऐक्यबद्धता जनाएको छ।
