ड्यामसाइडस्थित राधाकृष्ण मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाइँदै

हिमाली आवाज । पोखरा महानगरपालिका–१७, ड्यामसाइडस्थित ऐतिहासिक श्रीराधाकृष्ण मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रूपमा मनाइँदैछ।

फेवातालको काखमा अवस्थित तथा धार्मिक पर्यटनको सम्भावना बोकेको पोखराकै पुराना मन्दिरमध्ये एक श्रीराधाकृष्ण मन्दिरमा २०८३ साल भदौ १९ गते शुक्रबार बिहानदेखि मध्यरातसम्म विविध धार्मिक कार्यक्रम आयोजना गरिएको मन्दिर सञ्चालन समितिका सचिव रमेशराज पौडेलले जानकारी दिनुभयो।

जन्माष्टमीका अवसरमा बिहान ५ बजेदेखि राति १२ बजेसम्म श्रीकृष्ण जन्माष्टमीसम्बन्धी संगीतात्मक कथा प्रवचन, भजनकीर्तन, पूजा–आराधना, कथा श्रवण तथा प्रसाद ग्रहणका कार्यक्रम सञ्चालन गरिनेछन्। राति १२ बजे निशीथकालीन पूजा तथा श्रीकृष्ण जन्मोत्सव पूजा गरिने कार्यक्रम रहेको छ।

कार्यक्रममा दिग्दर्शक तथा वाचक शिरोमणि पण्डित दीपक सापकोटा र ज्योतिष पण्डित हिरामणि पौडेल शास्त्रीको मुखारविन्दबाट संगीतात्मक कथा प्रवचन हुने जनाइएको छ।

जन्माष्टमी पर्वलाई व्यवस्थित र भव्य बनाउन मन्दिर सञ्चालन समितिको गत साउन २४ गते बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको थियो। बैठकले समाजका विभिन्न क्षेत्रमा क्रियाशील सामाजिक तथा धार्मिक व्यक्तित्वलाई विभिन्न उपसमितिको जिम्मेवारी प्रदान गरेको छ।

प्रचारप्रसार तथा भक्तजन एवं अतिथि सत्कार उपसमितिको संयोजकमा मन्दिर सञ्चालन समितिका अध्यक्ष हेमन्त अधिकारी र सचिव रमेशराज पौडेललाई जिम्मेवारी दिइएको छ। कथा प्रवचन तथा भजनकीर्तन उपसमितिको संयोजकमा पण्डित दीपक सापकोटा रहनुभएको छ।

भोजन तथा प्रसाद व्यवस्थापन एवं वितरणको जिम्मेवारी अधिकारी समाज ढाँडले लिएको छ। मन्दिर सरसफाइ उपसमितिको संयोजन ड्यामसाइड टोल विकास समिति र एकता मार्ग आमा समूहले गर्नेछन्। आर्थिक व्यवस्थापन तथा चन्दा र दान संकलन उपसमितिको संयोजकमा मन्दिरका कोषाध्यक्ष देवीलाल अधिकारीलाई तोकिएको छ।

पूजा–आराधना तथा अन्य कार्यक्रमलाई व्यवस्थित बनाउन ड्यामसाइड क्लब र पुल्चोक क्लबले स्वयंसेवक परिचालन गर्नेछन्। कार्यक्रममा सहभागी भक्तजनको स्वास्थ्यमा आकस्मिक समस्या देखिएमा तत्काल प्रारम्भिक उपचार उपलब्ध गराउन विभूति हेल्थ केयर प्रालि तथा नमस्ते हस्पिटल, ड्यामसाइड–पार्दीलाई पनि अनुरोध गरिएको सचिव पौडेलले बताउनुभयो।

जन्माष्टमी पर्वकै अवसरमा बेलुका ७ बजे सन्ध्या महाआरती आयोजना गरिने भएको छ। महाआरतीमा कर्ता बन्न इच्छुक धर्मावलम्बी भक्तजनलाई सहभागी हुन मन्दिर सञ्चालन समितिले आह्वान गरेको छ।

समितिले सम्पूर्ण छरछिमेकी, टोलवासी, इष्टमित्र तथा धर्मावलम्बीलाई संगीतात्मक कथा प्रवचन, भजनकीर्तन, पूजा–आराधना, कथा श्रवण तथा प्रसाद ग्रहण कार्यक्रममा सहभागी भई श्रीकृष्ण जन्माष्टमी पर्वलाई भव्य र सभ्य रूपमा सफल बनाउन आग्रह गरेको छ।

Comments
Loading...