हिमाली आवाज । पोखरा महानगरपालिका–७ मासबारस्थित मदरल्याण्ड सेकेण्डरी स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयले भोटेकोशी बाढी प्रभावितका लागि रु आठ लाख १५ हजार ५५५ सहयोग गरेका छन् ।
बाढीपीडितको उद्धार तथा राहतका लागि ‘काइन्डनेस क्लब मदरल्याण्ड’को सक्रियतामा उक्त रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्राचार्य डा नारायण बरालले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम संकलन गरिएको उहाँले बताउनुभयो ।
बरालले भन्नुभयो,“प्राकृतिक विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो ठाउँबाट सहयोग गर्नु सबैको सामाजिक दायित्व हो । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय परिवारको सानो प्रयासले पनि पीडितलाई केही राहत पुग्ने विश्वासका साथ हामीले यो सहयोग रकम जुटाएर जम्मा गरेका छौँ ।”
यसैगरी विद्यालयको जुनियर रेडक्रस सर्कलको पहलमा संकलन गरिएको राहत सामग्री तथा नगद सहयोग नेपाल रेडक्रस सोसाइटी, कास्की शाखालाई हस्तान्तरण गरिएको प्राचार्य बरालले जानकारी दिनुभयो ।
प्रकृतिजन्य विपद्बाट हुने क्षतिलाई जनचेतना र सजगतामार्फत धेरै हदसम्म न्यूनीकरण गर्न सकिने विश्वासका साथ विद्यालयका विद्यार्थीले पोखराका विभिन्न स्थानमा प्राकृतिक विपद् र त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका उपायबारे जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने विद्यालयले जनाएको छ ।
