हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन अन्तरगत आइतबार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । उम्मेदवारहरुले अन्तिम प्रचारको तयारीमा छन् । यही क्रममा संयुक्त तथा साझा टिमबाट खुला सदस्य पदका उम्मेदवार भानुभक्त अधिकारीको उम्मेदवारी पनि चर्चामा आएको छ। उनी क्रम संख्या ८ बाट चुनावी मैदानमा छन्।
पोखरा–१, हरिचोकमा अस्ताम अधिकारी गिफ्ट एन्ड किचन कर्नर सञ्चालन गर्दै आएका अधिकारी लामो समयदेखि व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनी इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष तथा पोखरा महानगर सहकारी समितिका विज्ञ सदस्यसमेत हुन्।
व्यवसायमा लामो समयदेखि सक्रिय रहेकाले व्यवसायीले दैनिक रूपमा भोग्ने समस्या र बजारका चुनौतीलाई आफूले नजिकबाट बुझेको अधिकारी बताउँछन्। त्यसैले संघमा पुगेपछि व्यवसायीका वास्तविक समस्या उठाउने र समाधानका लागि पहल गर्ने उनको मुख्य योजना छ।
कर तथा प्रशासनिक झन्झट, बजार व्यवस्थापन, व्यवसाय सञ्चालनमा देखिने समस्या, व्यवसायमैत्री वातावरण र सरकारी निकायसँगको समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
सामाजिक क्षेत्रमा पनि सक्रिय अधिकारीले इन्द्रेणी एकीकृत विकास केन्द्रमार्फत विभिन्न सामाजिक तथा समुदायकेन्द्रित काम गर्दै आएका छन्। सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई अब व्यावसायिक क्षेत्रको नेतृत्वमा पनि प्रयोग गर्ने उनको भनाइ छ।
“व्यवसायीका समस्या मैले नजिकबाट बुझेको छु। संघमा प्रतिनिधित्व गर्ने अवसर पाएँ भने व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि निरन्तर पहल गर्नेछु,” अधिकारीले भने।
उनका अनुसार उद्योग वाणिज्य संघ सबै व्यवसायीको साझा संस्था भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पारदर्शिता, समन्वय र व्यवसायीको साझा हितलाई प्राथमिकता दिनुपर्छ।
पोखरा भाडा व्यवसायी संघका आजीवन सदस्यसमेत रहेका अधिकारीले विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा काम गरेको अनुभवलाई संघको जिम्मेवारीमा उपयोग गर्ने बताएका छन्।
३६औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको तयारी भइरहेका बेला व्यवसायीका समस्या प्रत्यक्ष रूपमा बुझेका उम्मेदवारलाई नेतृत्वमा ल्याउनुपर्ने विषय पनि व्यवसायीबीच चर्चामा छ।
क्रम संख्या ८ का उम्मेदवार अधिकारीले व्यवसायीको हकहित, व्यवसायमैत्री वातावरण र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै आफूलाई मतदान गर्न उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन्।
