हिमाली अवाजा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङखोलामा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ ।
आज साँझ ६ः३० बजेदेखी खोला थुनिएर पानीको बहाब अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएपछि आफूहरु वीरेठाँटी जाँदै गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने एकिन हुन नसकेको उहाँले बताउनुभयो ।
“दुई घण्टा देखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको खबर आएकाले म विरेठाँटी हिँडेको छु । किम्रोङखोला एवं मोदीखोला तटिय क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ दिदिबहिनीहरुलाई विशेष सतर्कता अपाउन आग्रह गरेका छौँ । ” अध्यक्ष केसीले भन्नुभयो । किम्रोङखोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटिय क्षेत्रहरु विरेठाँटी, नयाँपुल लगायतका क्षेत्रमा उच्च सतर्ककताका लागि गाउँपालिकाले अपिल गरेको छ ।
किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो । सो बाढीले पुल बगाएको थियो भने होटलहरुमा क्षति पुगेको थियो ।
