हिमाली आवाज । भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सगरमाथा माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय स्वयंले रु पाँच लाख एक हजार पाँच सय ५५ सहयोग गरेका छन् ।
विद्यालय परिवारले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरणका लागि हिसान कास्कीको खातामा जम्मा गरिएको हो । विद्यालयहरुमा जम्मा भएको रकम हिसानले एकमुष्ठ रुपमा कोषमा जम्मा गर्नेछ ।
विद्यालयले विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।
विद्यालयका संस्थापक प्राचार्य धनबहादुर थापाले प्राकृतिक विपद्का कारण पीडामा परेका नागरिकलाई सहयोग गर्नु विद्यालयको सामाजिक दायित्व भएको बताउनुभयो । उहाँले विद्यार्थीमा मानवीय भावना र सामाजिक उत्तरदायित्वको विकास गराउने उद्देश्यले समेत सहयोग अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
“विपद्का बेला पीडितको साथमा उभिनु हामी सबैको दायित्व हो । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयले आफ्नो तर्फबाट सकेको सहयोग गरेका हौँ,” प्राचार्य थापाले भन्नुभयो । यसैगरी बाढी प्रभावितका लागि सगरमाथा निकेतन स्कुलले पनि राहत प्रदान गर्ने तयारी गरेको छ ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै ठूलो सङ्ख्यामा नागरिक प्रभावित भएका छन् । बाढी प्रभावितको राहत तथा उद्धारका लागि विभिन्न सङ्घसंस्था, विद्यालय तथा नागरिकस्तरबाट सहयोग जुट्ने क्रम जारी छ ।
