केफ माविबाट बाढीपीडितलाई रु ३ लाख २४ हजार सहयोग

हिमाली आवाज ।  पोखरा–१, सिम्पानीस्थित केफ सेकेन्डरी स्कुल एन्ड कलेज (केफ मावि) ले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि रु ३ लाख २४ हजार ८७३ सहयोग गरेको छ।

विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले विद्यालयले सहयोग संकलन गरेको हो।

विद्यालयका सहायक प्रधानाध्यापक भानुभक्त पोखरेलका अनुसार विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय प्रशासनको सहभागितामा उक्त रकम संकलन गरिएको हो। विद्यार्थीबाट रु १ लाख ५९ हजार ६८६ , शिक्षक तथा कर्मचारीबाट रु ८५ हजार १८७  र विद्यालय प्रशासनबाट रु ८० हजार थप गरी कुल रु ३ लाख २४ हजार ८७३ सहयोग गरिएको हो।

पोखरेलले प्राकृतिक विपद्का समयमा पीडित नागरिकलाई सहयोग गर्नु विद्यालयको सामाजिक उत्तरदायित्वसमेत भएकाले मानवीय भावनाका साथ सहयोग गरिएको बताउनुभयो।

विद्यालयले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।

Comments
Loading...