तमु समाज यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग

हिमाली आवाज । भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि तमु समाज यूकेले प्रधानमन्त्री राहत कोषमा २५ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ ।

तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङको नेतृत्वमा नेपाल आएको टोलीले गृहमन्त्री सुधन गुरुङलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । बाढीपीडितको राहत र पुनस्र्थापनामा सहयोग पुग्ने उद्देश्यले समाजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रकम प्रदान गरिएको माया गुरुङले बताउनुभयो ।

चेक ग्रहण गर्दै गृहमन्त्री गुरुङले विपद्मा परेका नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा योगदान गरेकोमा तमु समाज यूकेप्रति आभार व्यक्त गर्नुभयो । चेक हस्तान्तरणका क्रममा तमु समाज यूकेका प्रतिनिधिले गृहमन्त्री गुरुङलाई खादा, माला, फेटा, भाङ्ग्रा तथा गलवन्दी लगाएर सम्मानसमेत गरे ।

टोलीमा तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङ, समाजसेवी चन्द्रबहादुर गुरुङ, तमु समाज यूकेकी प्रथम महिला विष्णुमति गुरुङ र माया (डोल्मा) गुरुङको टोली नेपाल सहयोग हस्तान्तरणका लागि नेपाल आएको हो ।

सहयोग हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तत्कालिन अध्यक्ष शिवशरण गुरुङ र कोषाध्यक्ष चन्द्रकान्त गुरुङले गरेका थिए । गृहमन्त्री गुरुङसँगको भेटघाटको समन्वय बोरो अफ स्वीडनका काउन्सिलर ज्ञान गुरुङले गर्नुभयो ।
तमु समाज यूकेको स्थापना तथा संस्थागत विकासको इतिहास लामो छ । ७ जुलाई २०१२ मा भएको वार्षिक साधारण सभाले संस्थाको नाम परिवर्तन गरी तमु समाज यूके राख्ने निर्णय गरेको थियो । त्यसको केही महिनापछि १० डिसेम्बर २०१२ मा बेलायतको च्यारिटी कमिसनमा समाज औपचारिक रूपमा दर्ता भएको थियो ।

तत्कालिन अध्यक्ष शिवशरण गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलगायतको नेतृत्व र मार्गदर्शनमा अघि बढेको समाजले बेलायतमा नेपाली तथा तमु समुदायसँग सम्बन्धित विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । सामाजिक सेवा, समुदायको हित तथा विपद्का बेला सहयोग गर्ने उद्देश्यअनुसार समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

भोटेकोशी बाढीपीडितका लागि अहिले गरिएको सहयोग पनि त्यही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा गरिएको हो । समाजले विगतमा पनि नेपालका विभिन्न विपद्का समयमा सहयोग गर्दै आएको छ । सन् २०१५ को भूकम्प, सेती नदीको बाढी तथा कोरोना महामारीका बेला समाजले विभिन्न स्थानमा राहत सामग्री वितरण र आर्थिक सहयोग गरेको थियो ।
सोही कार्यलाई निरन्तरता दिदैं समाजले १० भदौमा भोटेकोशी नदीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएका बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई सहयोग पु¥याउने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरेको थियो । अभियानमा समाजका सदस्यहरू, विभिन्न संघसंस्था, कम्पनी तथा शुभचिन्तकहरूले सहयोग गरेको तमु समाज यूके, आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङ बताउनुभयो ।

Comments
Loading...