पहिरोले घर बगाउँदा २ जनाको मृत्यु

काठमाडौँ,१३ साउन ।  रुकुमपश्चिममा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवीन र बलबहादुरको शव भेटिएको र चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जसवीरकी श्रीमती ६० वर्षीय झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो ।

झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आज बिहान करीब ४ बजेतिर घरदेखि १० मिटर माथिबाट आएको पहिरोले उक्त घर बगाएर डेढ सय मिटर तल खोला किनारमा पुर्याएको थियो ।

Comments
Loading...