पोखरा विमानस्थल : तोकिएको मितिमा काम सम्पन्न गर्न चूनौती

  एक वर्षमा ३८ प्रतिशत काम सक्नुपर्ने

पोखरा,१४ साउन । निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम तोकिएको समयसीमा भित्र सम्पन्न गर्न चूनौती देखिएको छ ।

कोरोना भाइरस(कोभिड–१९)का कारणले विमानस्थलको काम प्रभावित हुँदा तोकिएको मितिमा सम्पन्न गर्न चूनौती खडा भएको हो ।
सन् २०२१ जुलाई १० को ‘डेडलाईन’ भन्दा अघिनै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भएपनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मिति भित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएपनि चूनौतीपूर्ण छ । यसअघि छ महिना अघि काम सकिएर विमानस्थल हस्तान्तरण गर्ने योजना थियो ।

अझैपनि २०० हाराहारीमा चिनियाँ कामदार आउन नसकेको तथा केरुङ लगायतका नाकामा रोकिएका विमानस्थलका सामग्री आउन नसक्दा लक्ष्य प्रभावित हुने देखिएको छ । कतिपय सामग्री अझैपनि चीनबाट आउन बाँकी रहेको उताबाट पठाएको कम्तिमा दुई महिना समय यहाँ आइपुग्न लाग्ने भएकाले समेत काम आशातीय रुपमा अघि बढ्न सकेको छैन ।

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीमा विमानस्थलको काम नरोकिएपनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा छ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । आयोजनाले भने निर्धारित समयमा काम सम्पन्न हुने दावी गरेको छ । मजदर र रोकिएका सामग्री आएको खण्डमा बाँकी अवधिमा काम सकिने विश्वास आयोजनाले लिएको छ ।

आयोजनामा आउनुपर्ने २०० चिनिया कामदार हवाइ उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमा नाकामा रोकिएका कारणले समेत आयोजना प्रभावित भएको आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए ।

“आयोजना छ महिना अघि सम्पन्न गर्ने योजना अनुसार विगतमा लक्ष्य भन्दा बढी काम भएको थियो, यस वर्ष जनवरीदेखीनै काम प्रभावित बन्यो। उनले भने,“कोभिडले छ महिना असर गरी सक्यो, अझ एक÷दुई महिना गर्ने देखिएको छ, तर अहिलेसम्मको कामको सेडुअल अनुसार तोकिएकै समयभित्र सम्पन्न गर्न सक्छौँ ।”

चिनियाँ कम्पनी सीएएमसी इन्जिीनियरिङले विसं २०७४ असारदेखी विमानस्थलको काम शुरु गरेकामा हालसम्म आयोजनाको ६२ प्रतिशत काम सकिएको छ । रु २२ अर्व लागतमा विमानस्थल निर्माणका लागि सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबीच ठेक्का सम्झौता भएको थियो । विमानस्थलका लागि चीनको एक्जीम बैँङ्कले सहुलियत ऋण उपलब्ध गराएको छ

आयोजनाको ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर लामो रनवे,ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग(एस्सेस रोड), सिँचाई नाला, पानी बाहिर पठाउने(आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ ।
त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन,एटिसी टावर, लगायतका विभिन्न १४ वटा भवन, ह्याङ्गर लगायतको सिभिल संरचना र कङ्क्रीट संरचनाको काम सकिएर डेकोरेसन र फनिसिङको चरणमा रहेको आयोजनाले जनाएको छ ।

भवनहरुमा उपकरण जडान गर्ने काम तत्कालै शुरु गरिने र विदेशी कामदार आएलगत्तै आयोजनाले थप गति लिने बताइन्छ । जडान कार्य चाँडो हुने भएकाले समेत आयोजनाको भौतिक प्रगति बढ्नेछ । ग्लाइडपाथ,इलेक्ट्रोमिटर, बोडिङ ब्रीज लगायतका उपकरण तथा डेकोरेशनका सामग्री चीनबाट आउन बाँकी छ । ती सामग्री दुई महिनापछि मात्र आयोजनास्थलमा आइपुग्नेछन् ।

आयोजना सम्पन्न हुने मिति एक वर्ष बाँकी रहँदा ‘एयर साईड’ र ‘विल्डिङतर्फ’को अधिकाँस सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको र उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ ।

भारतको कलकत्तामा रोकिएका आयोजनाका सामग्री आइसकेको तथा विशेषज्ञ कामदार समेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गर्ने योजना बनाइएको छ । उपकरण जडानले आयोजनाको थप २५ देखी ३० प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेछ ।

Comments
Loading...