हिमाली क्षेत्रमा चुनौतीपूर्ण बन्दै जलवायु परिवर्तन

पोखरा, १५ साउन । पछिल्ला वर्षमा बढिरहेको जलवायु परिवर्तनको असरका कारण चाँदी जस्तै टलक्क टल्केका हिमाल कालापत्थरमा परिणत भएका छन् । जलवायु परिवर्तनको प्रमुख असर हिमाली शृङ्खलामा पर्ने गरेका कारण त्यसको प्रत्यक्ष मारमा नेपालका हिमाल बर्सेनि पर्दै गएका हुन् ।

जलवायु परिवर्तनसँगै हिमालमा हिउँ पग्लन थालेको छ भने हिउँ पर्ने क्षेत्रमा हिउँको साटो पानी पर्न थालेको छ । जलवायु परिवर्तनको असरसँगै हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागस्थित एक बस्ती तीन वर्ष अगाबै पानीको चर्को अभावसँगै सार्नुपरेको छ भने विगतमा हिउँले ढाकिने धेरै भूभाग कालापत्थरमा परिणत भैसकेका छन् ।

मुस्ताङको उपल्लो भागमा विगतमा हिउँ पर्याप्त पर्ने गरे पनि पछिल्लो समयमा निकै कम पर्ने गरेको स्थानीयवासी बताउँछन् । जलवायु परिवर्तनको असरसँगै हिउँ तथा पानी कम पर्न थालेपछि पानीको अभावसँगै छोसेर–९ स्थित सामजुङ बस्ती पानीको खोजीमा उक्त गाविसकै नमासुङ गाउँमा सरेको स्थानीयवासी तोप्के गुरुङले जानकारी दिए ।

उनका अनुसार सामजुङमा दश–बाह्र वर्षअघिसम्म पानीको मुहान भए पनि पछिल्ला वर्षमा हिउँ पर्ने क्रम घट्दै गएर मुहानै सुकेपछि पानीको अभावमा उक्त गाउँका १८ घरपरिवार तीन घन्टा टाढाको नमासुङ गाउँमा सरेका हुन् । हिउँ पर्न कम हुनुका साथै हिउँ पर्ने ठाउँमा पानी पर्न थालेपछि मुस्ताङ जिल्लाका हिमाली बस्ती बिस्तारै जोखिममा पर्दै गएको स्थानीयवासीको तर्क छ ।

उपल्लो मुस्ताङ सहित यहाँका अधिकांश ठाउँका सर्वसाधारणका घर तथा गोठ माटाकै प्रयोग गरी छाउने गरिएको छ । हिउँको साटो पानी पर्ने क्रम बढ्न थालेपछि माटाले छाइएका घरहरू जोखिममा छन् ।

जलवायु परिवर्तनका असरसँगै हिमाली क्षेत्रमा फल्ने स्याउ लगायतका फलफूलमा असर देखिएको छ भने तातो क्षेत्रमा गुनगुनाउने लामखुट्टे हिमाल तर्फ उक्लन थालेका छन् । जलवायु परिवर्तनसँगै हिउँ पग्लने तथा हिमताल फुट्ने क्रम पनि बढ्दै जाँदा चुनौती थपिएको छ । केही वर्षअघि सेती नदीमा अपत्यारिलो तवरबाट हिउँदमा आएको बाढीले दुई दर्जनको हाराहारीमा सर्वसाधारणले ज्यान गुमाएका थिए । बाढीका कारण यकिन नभए पनि अनुसन्धानका क्रममा हिमताल फुटेकै कारण बाढी आएको अनुमान गरिएको छ ।

पछिल्ला वर्षमा अन्नपूर्ण हिमालको हिउँ पग्लेर कास्कीको सिक्लेस गाउँमाथि बनेको नयाँ हिमताल जलवायु परिवर्तनको अर्को उदाहरण हो । अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको र उक्त ताललाई स्थानीय बासिन्दाले ‘कफुचे’ नाम राखेका छन् ।

जलवायु परिवर्तनको असरसँगै हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमा माथि सर्दै नदी हिमालमाथि उक्लिरहेको तथ्य पछिल्ला वर्षमा वैज्ञानिकले उजागर गरेका छन् । हालको विश्वमा मानिसले पिउने ७० प्रतिशत पानी हिमखण्डबाटै प्राप्त हुने भएकाले जलवायु परिवर्तनको प्रभावका कारण हिमाल पग्लने अवस्थालाई गम्भीरताका साथ लिनु आवश्यक भएको छ ।

Comments
Loading...