चाडपर्व मनाउने नाउँमा अनावश्यक भिडभाड नगर्न मादी गाउँपालिकाको आग्रह

पोखरा,२ भदौ । कास्कीको मादी गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोक्नका लागि आवश्यक सबै सुरक्षाका उपाय अवलम्वन गर्न गाउँवासीमा आग्रह गरेको छ ।

गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको वैठकले नजिकै आइरहेको तीज लगायतका चाडपर्व मनाउने नाउँमा अनावश्यक भिडभाड गर्ने, इष्टमित्र तथा छरछिमेककोमा जाने तथा आफ्नो घरमा वोलाउने जस्ता क्रियाकलाप नगर्न समेत सबैमा अनुरोध गरेको छ ।

बैठकले हालैको अविरल वर्षाको कारणबाट गाउँपालिका भित्रका विद्यालयतथा सर्वसाधारणको घर लगायतका भौतिक संरचनामा हुन गएको क्षति तथा विस्थापित परिवारहरुको तथ्यांक संकलन गर्ने र भौतिक संरचना निर्माण सुधार कार्यमा सहयोगको लागि प्रदेश सरकार सँग अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले बताए ।

त्यसैगरी पालिकाभित्र संचालन हुने सार्वजनिक यातयातका साधनहरु संचालन गर्दा सुरक्षाका विभिन्न उपायहरु माक्स, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने तथा सामाजिक दुरी कायम हुने गरी यात्रु बोक्ने व्यवस्था मिलाउने,कोरोना भाइरस नियन्त्रण तथा व्यस्थापनको लागि वडा नं. ४ तारकाङ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा आइसोलेसन कक्ष सहितको पालिका स्तरीय क्वारेण्टाइन व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

वडा कार्यालयबाट स्थापना गरिएको क्वारेण्टाइनलाई थप व्यवस्थित गर्ने,वडा कार्यालयको अगुवाइ र स्वास्थ्य शाखाको समन्वयमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी सहितको टोली खटाई जनचेतनामूलक कार्यक्रम संचालन गर्ने,सवै वडाकार्यालयहरुलाई थर्मलगन, माक्स, सेनिटाइजर जस्ता सुरक्षा सामग्री उपलब्ध गराउने र क्वारेण्टाइन निर्माण भएका विद्यालयहरुबाट क्वारेण्टाइन हटाई निर्मलीकरण गर्ने र पठनपाठन योग्य बनाउने निर्णय बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

Comments
Loading...