कास्की जिल्लाभर निषेधाज्ञाको पूर्ण पालना,पोखरा लगायत गाउँ समेत सुनसान

पोखरा,४ भदौ । कोरोना भाइरस सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आह्वान गरेको निषेधाज्ञाको  पोखरामा पूर्ण रुपमा यसको पालना भएको छ । पोखरा बजार तथा गाउँ समेत सुनसान छन् ।बजारबाट गाउँतिर जाने मानिस तथा सवारी साधन भएपछि गाउँमा समेत सुनसान रहेको छ ।

गण्डकी प्रदेशको राजधानी शहर समेत रहेको पोखराका मुख्य सडक तथा भित्री सडकका पसल,व्यवसायात तथा यातायात बन्द भएका छन् । ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । मङ्गलबार राति १२ बजदेखी भदौ सात गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

अत्यावश्यक काममा बाहेक मानिसलाई घर बाहिर निस्कन र हिँडडुल गर्न समेत निषेध गरिकाले सर्वसाधारणले यसको पालना गरेका छन् ।
महेन्द्रपुल, चिप्लढुङ्गा,लेकसाईड,बगर, सिर्जनाचोक, पृथ्वीचोक, जिरोकिमी तथा मुख्य बजार क्षेत्रमा दिनभर सुनसान रहेका थिए ।

फाट्टफुट्ट रुपमा एम्वुलेन्स, प्रेस, सुरक्षाकर्मी तथा खाद्यान्न बोकेका गाडी बाहेक अन्य सबै सार्वजनिक तथा निजी यातायात पूर्णत बन्द छन् ।
खाद्यान्न,फलफूल,तरकारी तथा दूध र डेरीजन्य पसलहरु भने विहान ५ः०० बजेदेखी ८ः०० बजेसम्म र साँझ ५ः०० बजेदेखी ७ः०० बजेसम्म सञ्चालनको अनुमति दिइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले  पोखरा लगायत जिल्लाभर निषेधाज्ञाको कठाईका साथ कार्यान्वयन गरिएको र सर्वसाधारणबाट समेत पालना भएको बताए । केही पैदलयात्री तथा सवारी साधनलाई सम्झाई बुझाई गरिएको तथा केही समय नियन्त्रणमा राखेर छाडिएको बताउँदै आगामी दिनमा थप कडाई गरिने उनले जानकारी दिए ।

निषेधाज्ञाको प्रभाव चारवटै गाउँपालिकाहरुमा समेत परेको बताइन्छ । गाउँमा समेत मानिसको ‘मोविलिटि’ नियन्त्रण गरिएको छ । स्थानीय सरकारले समेत निषेधाज्ञाको कडाईका साथ पालना गराएका छन् । माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकाभित्र तोकिएको अवधिभित्र कडाईपूर्वक निषेधाज्ञा कार्यान्वयन गरिने बताउँदै पहिलो र दोस्र दिन यसको पालना भएको बताए ।

दूध, तरकारी बोक्ने गाडी लगायतका कृषि उपज ढुवानीमा कुनै रोकावट नभएपनि अनावश्यक हिँडडुल तथा सवारी साधन सञ्चालनमा रोक लगाएर सुरक्षाकर्मीलाई कडाई गर्न निर्देशन दिइएको गुरुङले बताए ।

Comments
Loading...