मृतक प्रहरीद्धयमा उच्च प्रहरी अधिकृतबाट पोखरामा सलामी तथा श्रद्धाञ्जली अर्पण

पोखरा,४ भदौ । पोखरामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई प्रहरीलाई आज प्रदेशका उच्च प्रहरी अधिकृतहरुले शोक सलामी तथा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कर्तव्य निर्वाहका क्रममा यही भदौ ३ गते सडक दुर्घटनामा परी मृत्यु भएका वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी हवल्दार डम्बर बहादुर थारु र प्रहरी जवान चन्द्र बहादुर बगालेको पार्थिव शरिरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राङ्गणमा शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले पार्थिव शरीरमा नेपाल प्रहरी संगठनको झन्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरे । सोही अवसरमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

प्रहरी नायव महानिरीक्षक अर्यालले दुबै जना मृतक प्रहरी कर्मचारीका परिवारजनहरुसँग भेटघाट गरी समवेदना प्रकट गर्नुका साथै ईमान्दार, कर्तव्यनिष्ट प्रहरी कर्मचारीलाई गुमाउँदा नेपाल प्रहरी संगठनलाई अतुलनीय क्षती भएको महसुस गरेको बताए ।

संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी., जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले समेत पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

भदौ ३ गते विहान १ः०५ बजेको समयमा पोखरा महानगरपालिका–५ मालेपाटन स्थित विश्वास पेट्रोलपम्प अगाडी बाग्लुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको प्रहरी सवार मोटरसाईकललाई सोही दिशाबाट आएको बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा गम्भिर घाइते भई दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

Comments
Loading...