पोखरेली कलाकारको आसा छर्ने गीत, आज रिलिज हुँदै

पोखरा, ४ भदौ । कोरोना भाइरसले नेपाल मात्र नभई विश्वलाई नै गाँज्दै गर्दा पोखराका कलाकारहरुले जनतामा आसा छर्ने गीत लिएर आएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालको पहलमा यस्तो कार्य सम्पन भएको हो । गीत आज सार्वजनिक हुँदै छ ।

कोभिड १९ भनिने कोरोना भाइरसका कारण उत्पन्न विषम अवस्था तथा यसका कारण उत्पन्न बन्दी, मन्दी र निरास अवस्थाका जनमानसमा साहस र ढाडस दिन तथा आशावादी हुनुपर्छ निराश हुनुहुदैन भन्ने सन्देश दिन सो गीत गाइएको संस्थाका अध्यक्ष हर्क बहादुर थापा (सुनिल थापा) ले जानकारी दिए । गीत निर्माणको सम्पूर्ण व्यवस्थापन संघका उपाध्यक्ष हर्क राज गुरुङ (भाई) ले गरेका हुन् ।

सबै कलाकार मात्र होइन सबै नेपाली एक भएर यो विषम परिस्थितिको सामाना गरौं, एकदिन कोरोना पक्कै हट्नेछ भन्ने सन्देश दिंदै समय सापेक्ष र हौसला प्रदत्त यो गीत संघले प्रस्तुत गर्न लागेको हो । कोरोनाका कारण अहिले आक्रान्त बनेका मानिसहरुमा गीतले आत्मबल र आत्मविश्वास बढाउँछ भन्ने आसा संघले लिएको छ । गीत रेकर्डिङको सम्पूर्ण खर्च संस्था आफैले व्यहोरेको छ ।

गीती भिडियो निर्माणको निम्ति संघको अफिसियल फोटो ग्राफर र सपोर्टर एसटु प्रोडक्सनसँग सहकार्य गरिएको छ । भिडियो निर्देशन, क्यामेरा र सम्पादनको जिम्मेवारी एसटु प्रोडक्सनका सुरज श्रेष्ठ र एसिस्टेन्ट क्यामेराको जिम्मेवारी विवेक ठकुरीले सम्हालेका छन् । गीतमा पोखराका विभिन्न कलाकारहरुले आवाज दिएका छन् । यस गीतका रचनाकार संघका सचिव राजेन्द्र अधिकारी हुन् भने संगीतकार सोही संस्थाका अध्यक्ष थापा हुन् । गीतको संगीत संयोजन कार्य संस्थाका कार्यसमिति सदस्य अमीत गुरुङले गरेका हुन् । गायकहरुमा श्याम सुङ्ग तामाङ्ग, भाई गुरुङ, विनोद बानिया, शान्ता राज बज्राचार्य, आनन्द बज्राचार्य, अमीत गुरुङ, इन्द्र गुरुङ र सुनिल थापा छन् भने गायिकाहरुमा प्राप्ति तुलाचन, बबि सुनार र एलिना गुरुङ रहेका छन् । गीतको धेरै जसो रेकर्डिङको काम पल्स डिजिटल स्टुडियो गैह्रापाटनमा र केही काम सिजन बज्राचार्यसँग गरिएको हो ।

Comments
Loading...