पोखरा,६ भदौ । बाग्मती प्रदेश सरकारले कृषि र भेटेरीनरी सेवालाई एकीकृत गर्र्ने तयारी गरेपछि नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले कडा आपत्ति जनाएको छ ।
नेल्टाका केन्द्रीय अध्यक्ष जनकबहादुर रावल र महासचिव सुरेशकुमार श्रेष्ठले आज संयुक्त विज्ञप्ती जारी गरी विगतमा प्रयोगमा आई असफल समेत भइसकेको विषयलाई बागमती प्रदेश सरकारले प्रदेश भरिका जिल्लामा संयुक्त कार्यालय राख्नको लागि कामकाज भईरहेको प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
देशको पुर्नःसंरचनासँग जिल्ला पशु सेवा कार्यालय हटाएर ४७ जिल्लामा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरी सेवा प्रदान भइरहेको तथा भेटेरीनरी सेवा लाई महामारी रोग नियन्त्रण तथा विशिष्टिकृत सेवा प्रदान गर्न नसकिरहेको समयमा सेवाको विशिष्टीकरण गर्नु पर्ने र विशेषज्ञता सहितको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता रहेको नेल्टाको ठहर छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र नभएको जिल्लाहरुमा समेत कार्यालय स्थापना गरी सेवाको विशिष्टिकरण सेवा, प्रयोगशाला सहितको विशिष्टिकृत सेवा संचालन गरी कृषि तथा पशुपन्छी तथा मत्स्य पालक कृषकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि सवै जिल्लाहरुमा प्रयोगशाला सहितको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्न समेत माग गरिएको छ । विज्ञप्तीमा यस विषयको सुनुवाई नभएमा जस्तो सुकै कदम चाल्न सकिने चेतावनी समेत दिइएको छ ।
नेपाल कृषि प्रधान देश भएको र अधिकांस जनताहरु कृषि एवम पशुपन्छी पालनमा निर्भर रहेको कृषि र भेटेरीनरी सेवालाई संयुक्त रुपमा सेवा प्रदान गर्ने उधेश्यले २०४९ सालमा कृषि र भेटेरीनरी कार्यालयहरुलाई एकीकृत गरी कार्यालयहरुलाई एकिकृत (मर्ज) गरेर सेवा सुचारु गरिएको नेल्टाले जनाएको छ ।
कृषि र भेटेरीनरी सेवा लाई विशिष्टिकृत गर्नको लागि २०५२ सालबाट पुनः जिल्ला पशु सेवा कार्यालय र जिल्ला कृषि विकाश कार्यालय ७५ वटै जिल्लामा स्थापना गरी सेवा शुरु गरिएको समेत स्मरण गराइएको छ ।