गाई काट्न हतियार सहित हिँडेको आशंकामा पाँच युवालाई कास्कीमा प्रहरी र गाउँलेले समाते

पोखरा,८ भदौ । गएराति गाई काट्ने नियत सहित गौरक्ष केन्द्रमा पुगेको आशंकामा घरेलू हतियार लिएर हिँडेका केही व्यक्तिलाई प्रहरी र गाउँलेले समातेका छन् ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–३ स्थित जटायु संरक्षण तथा गौरक्ष केन्द्रमा पालिएका गाई काटेर लैजाने उद्धेश्यले पुगेका सात मध्य पाँच युवालाई प्रहरी चौकी घाचोकका इन्चार्ज कमल केसी, संरक्षण समितिका पदाधिकारी तथा गाउँलेले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छन् । दुई जना भने फरार रहेको बताइन्छ । पक्राउ परेकाहरुको ठेगाना खुल्न बाँकी रहेपनि गौरक्ष केन्द्रले भने कसेरीका युवा रहेको जनाएको छ ।

हिजो राति १०ः३० बजेको समयमा युवाहरु गाई खोज्दै सो केन्द्रमा पुगेपछि हेरालोले संरक्षण समितिका पदाधिकारी तथा प्रहरीलाई खबर गरेपछि सबै मिलेर उनीहरुलाई हतियार सहित नियन्त्रणमा लिइएको जटायु संरक्षण तथा गौरक्ष केन्द्रका अध्यक्ष केशव पोखरेलले जानकारी दिए ।

“विगतमा समेत गाई काटिएको पुष्टि भएपछि हामीले केही दिनयता पालेलाई चनाखो बन्न भनेका थियौँ । हिजो राति समेत युवाहरु आएर गाई खोेजेका रहेछन् तर त्यतिनै बेला ठूलो पानी परेकाले समात्न नसकेर ओत बसेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएका हौँ ।” पोखरेले हिमाली आवाज डटकमसँग भने ।  उनीहरुको साथबाट मासु लाने थैला, एक वटा बन्चरो, दुई वटा आँसी, दाउ, चक्कू फेला परेको बताइन्छ ।

जटायु संरक्षण तथा गौरक्ष केन्द्रकातर्फबाट आज दिउसो जिल्ला प्रहरीमा जाहेरी दर्ता गराइएको पोखरेलले बताए ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले गाई काट्ने नियत सहित पुगेकाहरु प्रहरी  सहितको टोलीले पक्राउ गरेको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताए ।

Comments
Loading...