पोखरा महानगरभित्रकै सडक डेढ महिनादेखी अवरुद्ध

–कृष्ण दवाडी
पोखरा,८ भदौ । पोखरा महानगरपालिकाको लामाचौर हुँदै माछापुच्छ«े गाउँपालिकाको सार्दिखोलासम्मको पक्की कालोपत्रे सडक अवरुद्ध भएको लामो समय वित्दा समेत मर्मत हुन सकेको छैन ।

लामाचौर–सार्दिखोला सडक खण्डको बेशीचोकमा गत असार २६ गते राति अन्दाजी २०० मिटर तलबाट सडक पहिराले बगाउदा माछापुच्छ«े गाउँपालिकाका वडा नं २, १ र ३ नं वडाका सहित महानगरको पुरुनचौरका नागरिकले सास्ती पाएका छन् ।बेसीचोकमा पहिराले सडकको अधिकाँस भाग बगाएपछि चार पाङग्रे सवारी साधन सञ्चालन ठप्प छ भने मोटरसाइकल तथा स्कुटर जोखिम मोलेर चलाउनुपर्ने बाध्यता छ ।

ठूला यातायातका साधन घुमाउरो बाटो हुँदै पोखरा बाग्लुङ राजमार्गको मिलनचोक तथा सोही वडाको घार्मीहुँदै सञ्चालन गर्नुपर्ने बाध्यता छ । महानगरभित्रकै सडक अवरुद्ध भएको लामो समयसम्म पुर्नःनिर्माण नभएपछि सरोकारभएकाहरु आक्रोशित समेत भएका छन् ।

महानगरपालिकाको महत्वपूर्ण वडा तथा माछापुच्छ«े गाउँपालिकाको कनेक्टिङ सडक लामो समय मर्मत नहुँदा बिरामीलाई अस्पताल लैजान समेत नसक्ने अवस्था रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला कमिटी सदस्य समेत रहनुभएका पुरुनचौर निवासी इमानराज पौडेलले बताए ।

“पहिराले सडक बगाएदेखीनै यहाँ आएर सङ्घ तथा प्रदेशका मन्त्रीहरु तथा पार्टीका नेताहरुले हेर्ने काम गर्नु भएको छ तर अहिलेसम्म सडक मर्मतको काम शुरु भएको छैन।” पौडेलले भने,“डेढ महिना समय वित्यो तर अवरुद्ध महानगरभित्रको सडक मर्मत नहुनु लाजमर्दो छ ।”
सोही वडाका वडाध्यक्ष शोभामोहन पौडेलले सडक मर्मतका बोलपत्र आह्वान भएर प्रक्रियामा रहेको बताए ।

प्रदेश सरकारले मर्मतका लागि बजेट उपलव्ध गराउने भएपछि छोटो अवधि १५ दिनको बोलपत्र आह्वान भएर सम्झौता समेत भइसकेकाले ‘फास्ट ट्रयाक’मा आगामी भदौ २० गतेबाट काम शुरु हुने उनको भनाई छ ।

“अवरुद्ध सडक खुलाउन हामी सबै लागि परेका छौँ तैपनि कानूनी प्रक्रिया र इन्जिीनियरिङ नाप जाँच गर्दा समय लागेको छ ।” वडाध्यक्ष पौडेलले भने ,“ मोटरसाइकल सोही सडकबाट सञ्चालन भएको छ अन्य सवारी साधन, एम्बुलेन्सका लागि हेमजा तथा घार्मीबाट समेत वैकल्पिक व्यवस्था गरिएको छ ।”

प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय कास्कीले अवरुद्ध सडक मर्मत कार्य(इमर्जेन्सी) मा राखेर रु ८६ लाखको बोलपत्र आह्वान गरेर बोलपत्र खोलिसकेको जनाएको छ ।

न्यूूनतम रकम ठेक्का हाल्नेसँग सम्झौताको तयारी भएपनि टेन्डर पर्ने निर्माण व्यवसायीको अख्तियारमा मुद्धा रहेकाले के गर्ने भन्नेमा अन्यौल भएकाले मन्त्रालयमा लेखीपठाएको कार्यालयका प्रमुख एवं डिभिजनल इन्जिीनियर दिनेश घिमिरेले बताए ।

“न्यूनतम ठेक्का हालेको निर्माण व्यवसायीको अख्तियारमा केश रहेकाले उसलाई दिने वा दोस्रो व्यक्तिसँग सम्झौता गर्ने भन्ने बारेमा मन्त्रालयबाट निर्देशन माग्नु पर्दछ । मन्त्रालयबाट सहमति प्राप्त भए लगत्तै सडक मर्मतको काम शरु हुन्छ ।” उनले भने ।

Comments
Loading...