पोखरा सहित गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए

पोखरा,१० भदौ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकाँस जिल्लामा निषेधाज्ञा जारी रहेपनि सङ्क्रमण घटेको छैन ।सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज विहान प्रदेशका कास्की,लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कास्कीमा दुई सङ्क्रमित मध्य एक जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन् ।
लमजुङमा २३ जना थपिएकामा २० जना पूरुषहरु बेशीशहरस्थित नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । लमजुङका सङ्क्रमित एक पुरुष बेशीशहरमा एक बैँङ्कमा कार्यरत रहेको बताइन्छ ।

नवलपरासी बर्दघाट सुस्ता पुर्वको गैँडाकोट र कावासोती नगरपालिकामा गरी सात जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशमा सङ्क्रमित एक हजार ९४५ पुगेका छन् भने एक हजार ६४३ जना निको भएका छन् । प्रदेशमा सङ्क्रमणबाट निको हुने दर ८४ दशमलव ४७ प्रतिशत रहेको छ । हालसम्म आठ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रदेशमा अहिलेसम्म ४१ हजार ४०० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएकामा ३९ हजार ४५५ मा सङ्क्रमण देखिएको छैन ।
पछिल्लो समय यहाँका प्रयोगशालामा दैनिक एक हजार हाराहारीमा परीक्षण हुने गरेकाले नतिजा आउन बाँकी नमूना ‘पेन्डिङ’ रहेको छैन ।

Comments
Loading...