कर्मचारीको मनोवल घट्ने गरी संगठन व्यवस्थापन गर्न लागिएको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण

पोखरा,१० भदौ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्मचारीको मनोवल घट्ने गरी अस्थायी संगठन तथा व्यवस्थापन गर्न लागेको भन्दै पशु सेवामा कार्यरत कर्मचारीले विरोध जनाएका छन् ।

मन्त्रालयले संगठन तथा व्यवस्थापन अघि बढाएपछि आज नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ(नेल्टा), नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एशोसिएसन(नेल्भा) तथा नेपाल कृषि प्राविधिक एशोसिएशन(नाटा)ले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा तथा कृषि मन्त्रालयका निमित्त सचिव गंगालाल पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

तीन वटै संगठनले संगठन व्यवस्थापन सहभागिता मूलक बनाउन सरोकारवालाहरुसँग छलफल गरी अघि बढाउन माग गरेका छन् । समायोजन ऐन २०७५ अनुसार छैटौँ स्तर अधिकृतलाई जिम्मेवारी सहित अधिकृत तहमानै व्यवस्थापन गर्नुपर्नेमा मनोवल घट्ने गरी सहायकस्तरको पदसँग व्यवस्थापन गर्न खोजिएको प्राविधिकहरुको गुनासो छ ।

त्यसैगरी समायोजन ऐनको मर्म अनुसार श्रेणीगत व्यवस्थालाई नअपनाई तहगत व्यवस्थालाई अवलम्वन गर्र्ने ध्येय राखिएको हुँदा प्रत्येक तहगत पदहरुको स्पष्ट खाका बनाउँदै कार्य विवरण सहित संगठन व्यवस्थापन गर्र्नुपर्ने माग तीनवटै संगठनको छ ।

संगठन व्यवस्थापनमा एउटै योग्यता र क्षमताबाट पद पूर्ति भएका विभिन्न समूहहरुलाई प्राथमिकता नदिई तहगत रुपमानै व्यवस्थापन गर्न माग गरिएको छ । त्यसैगरी संक्रमण रोग रोकथाम नियन्त्रण गर्न संलग्न कर्मचारीलाई उच्च मनोवलका साथ कार्य अतिरिक्त सुविधाका लागि ध्यानाकर्षण गराइएको छ ।

नेल्टाका गण्डकी प्रदेश संयोजक सहदेव पौडेल,नेल्भाका संयोजक नवराज अधिकारी तथा नाटाका गुरुप्रसाद अधिकारीले संयुक्त रुपमा मुख्यमन्त्री, मन्त्री तथा सचिवलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको नेल्टाका केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

Comments
Loading...