एकीकृत अखिल नेपाल शिक्षक संगठनको महिला विभाग संयोजकमा प्रतिभा अधिकारी चयन

पोखरा,११ भदौ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीको महिला विभाग संयोजकमा प्रतिभा अधिकारी चयन भएकी छन् ।

संगठनको आज भएको भर्चुअल मोडको भेलाले उनलाई सर्वसम्मत रुपमा संयोजकमा चयन गरेको हो । त्यसैगरी पवित्रा श्रेष्ठ सह संयोजक तथा पुर्णिमा गुरुङ सचिवमा चयन भएका छन् । सदस्यहरुमा विष्णुमाया भट्टराई, माया पौडल, लीला न्यौपाने, बिन्दु अधिकारी, अम्बिका भण्डारी र दुर्गा ढकाल रहेका छन् ।

भेलाको उद्घाटन गर्दै संगठनका केन्द्रिय महिला शिक्षक विभाग ईञ्चार्ज एवं केन्द्रिय समितिका उपाध्यक्ष नानुमाया पराजुलीले महिला शिक्षकहरु पुरुष शिक्षकहरु जस्तै समान काम गर्न सक्षम हुँदाहुँदै पनि उनीहरुलाइ अवसरबाट बञ्चिन गर्ने गरिएको बताइन्छ । उनले महिलाहरु आफ्नो हैसियत आफै निर्माण गर्न तयार हुन र अगाडि बढ्न तमाम महिला शिक्षकहरुलाइ आह्वान गरिन् ।

संगठनका गण्डकी प्रदेश समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले संगठनले महिला शिक्षकहरुलाइ कहिल्यै पनि असमान ब्यवहार नगरेको र आगामी दिनमा पनि नगर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रकृति प्रदत्त अधिकारबाट महिलालाई विमुख गरिनु सामाजिक रुपमा अस्वीकार्य हुने र त्यस खालका कर्मका बिरुद्ध खुलेर लाग्न अपिल गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका सचिव बखानसिँह तमु (आभाष)ले महिला शिक्षकहरूले सममज परिवर्तनको  आन्दोलनमा खेलेको हिजोको भुमिकाको प्रशंसा गर्दै महिलामाथि कुनै पनि बहानामा हुने विभेदको बिरुद्धमा आफ्नो पार्टी र आफू सदा रहने कुरा बताउँदै कम्युनिस्ट आन्दोलन सबै खाले विभेदको बिरुद्धको महासंग्राम रहेको उल्लेख गरे ।

संगठनका जिल्ला समितिका अध्यक्ष तारानाथ पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।  संगठनका जिल्ला समितिका महिला उपाध्यक्ष सम्झना कट्टेलको अध्यक्षतामा र प्रतिभा अधिकारीको सञ्चालनमा कार्यक्रम भएको संगठनका जिल्ला समन्वय समितिका सचिव प्रकाश रिजालले जानकारी दिए ।

Comments
Loading...