कास्कीमा १७ वर्षदेखी फरार सवारी ज्यान मुद्धाका प्रतिवादी पक्राउ

पोखरा,१२ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले १७ वर्षदेखी फरार सवारी ज्यान मुद्धाका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

मादी गाउँपालिका–१० पार्चे बस्ने रनबहादुरको छोरा ५८ वर्षीय पसबहादुर गुरुङलाई बिहीबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

जिल्ला अदालतको विसं २०६० जेठ १८ गतेको फैसलाले सवारी ज्यान मुद्धामा गुरुङलाई दुई वर्ष ११ महिना १५ दिन कैद सजाय तोकिएकामा हाल सम्म फरार रहदै आएको प्रहरीले जनाएको छ ।

विगतमा सवारी चालक रहेका र हाल कृषि पेशामा आवद्ध उनीलाई घरबाटै पक्राउ गरिएको प्रनाउ हमालले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर फरार व्यक्तिहरुको खोजतलासलाई तीव्रता दिएको जनाएको छ ।

 

Comments
Loading...