निषेधाज्ञा थपिदैन, यातायात जोर विजोरका आधारमा : उपप्रमुख गुरुङ

पोखरा,१२ भदौ । कोरोना संक्रमण बढेपछि पोखरा सहित कास्की जिल्लाभर गत भदौ ३ गते रातिबाट जारी निषेधाज्ञा अब नथपिने भएको छ ।

निषेधाज्ञा आज राति १२ बजेदेखी सकिने भएपछि पोखरा महानगरले निषेधाज्ञा नथप्ने र केही मोडालिटी परिर्वतन गरेर भीडभाड कम गर्ने उपाय अवलम्वन गर्ने निर्णय गरेको छ ।

पोखरा महानगर कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन मूल समितिका संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले हिमाली आवाज डटकमसँगको कुराकानीमा हिजोको उच्चस्तरीय समितिको बैठकले भीडभाड र मोविलिट कम गर्नका लागि पोखरामा सार्वजनिक बस बाहेकका अन्य सबै यातायातका साधन जोर विजोरका आधार चल्न दिने निर्णय गरी कार्यान्वयनका लागि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र्र(डिसिसिएमी)मा सिफारिस गरिएको जानकारी दिइन् ।

“जारी निषेधाज्ञा अव थपिदैन तर त्यसमा केही मोडालिटी परिर्वतन गरेका छौँ।” उपप्रमुख गुरुङले भनिन्,“कोरोनाको औषधी भनेकै भीडभाड कम गर्ने हो, त्यही भएर हामीले सार्वजनिक यातायात बस बाहेक ट्याक्सी लगायतका अन्य निजी सवारी साधन जोर विजोरका आधारमा सञ्चालन गर्न पाउने निर्णय गरेका छौँ ।”

उपप्रमुख गुरुङले सार्वजनिक बस सञ्चालकहरुसँग २० गते भित्रमा छलफल गरी बस समेत जोर विजोरमा चलाउने सम्वन्धमा निर्णय लिइने जानकारी दिइन् । महानगरको निर्णयका बारेमा छलफलका लागि डिसिसिएमसीको बैठक आज बस्दैछ ।

त्यसैगरी वडा कार्यालयबाट सिफारिस बाहेक अन्य नक्सा पास लगायतका काम भदौ २० गतेसम्म बन्द गर्ने, राजश्व तिर्न वडाहरुमा पहिल्यै समय मागेर जानुपर्ने लगायतका संघीय सरकारले अवलम्वन गरेका बाहेकका व्यवस्थाहरु महानगरले गर्ने  र सो सम्वन्धमा आज सूचना जारी गरिने उपप्रमुख गुरुङले जानकारी दिइन् ।

महानगरभित्रका बैँक तथा वित्तिय संस्थाहरुमा कडाईका साथ दूरी कायम गराउने निर्णय समेत उच्चस्तरीय समिति बैठकले गरेको बताइन्छ ।

Comments
Loading...