सञ्चारकर्मीको जागिर र तलवको ज्ञारेण्टी गर्न प्रेस युनियनको माग

पोखरा,१३ भदौ । नेपाल प्रेस यूनियन गण्डकीले सबै पत्रकार र सञ्चारकर्मीलाई विभिन्न वहानामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

११ वटै जिल्लाका यूनियन कर्मीहरुको भर्चुअल भेलापछि पत्रकार तथा कर्मचारीलाई जागिरबाट निकाल्नु अमानविय र मिडिया मालिकको मनपरी भएको आरोप लगाएको छ ।

‘लकडाउनलाई देखाएर नियमित तलव नदिनु गलत छ । कुनैपनि बहानामा आफ्ना कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने र बेतलवी विदामा बस्न बाध्य पारिएको घटनाप्रति यूनियनको गम्भीर ध्यानाकषर्ण भएको छ,’ भेलापछि जारी अपिलमा भनिएको छ, ‘जागिर गुमाएका वा जागिर छोड्न बाध्य बनाईएका र नियमित पारिश्रमिक नपाएका सञ्चारकर्मीहरुको जागिर र तलव तत्कालै ज्ञारेण्टी गर्न सम्बन्धित सञ्चारमाध्यम सँग नेपाल प्रेस यूनियन गण्डकी प्रदेश जोडदार माग गर्दछ ।’

पत्रकार अप्ठ्यारोमा परेको बेला सम्बन्धित जिल्लाका पत्रकार महासंघले पनि प्रभावकारी समन्वय गर्न नसकेको भन्दै यूनियनले रिपोर्टिङमा निस्किने पत्रकारलाई सुरक्षित वातावरण सिर्जना गर्न आग्रह गरेको छ । पत्रकारिता पेशाप्रति प्रदेश र स्थानीय सरकार अनुदार भएको यूनियनको आरोप छ ।

‘पत्रकारिता पेशाप्रतिको निर्मम संकट समाधानको लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछ,’ अपिलमा भनिएको छ,‘सबैजसो क्षेत्रमा सरकारले सहुलियत दिईरहेको अवस्थामा मिडियाको संरक्षणमा सरकारको सहयोग पुगेको छैन ।सबैखाले सञ्चार माध्यमलाई सहुलियत ऋण वा लोककल्याणकारी विज्ञापनको अवधारणा अनुसार प्रदेश र स्थानीय सरकारले सहयोग गरोस् ।’

५ बुँदे अपिलमा जोखिममा रहेका पत्रकारको सहज पिसिआर गर्न र संक्रमण पुष्टी भएकाको उपचारमा सहयोग गर्न सरकारसँग माग गरिएको छ भने पत्रकारलाई पेशामै टिकाईराख्न लेखनबृत्ति र तालिम लगायनका कार्यक्रम सञ्चालन गर्न पत्रकार महासंघ सँग आग्रह गरेको छ ।

कोरोनाको असर नियमित थपिँदै गएको र पत्रकारिता पेशामा गम्भिर संकट आएकोले त्यसको निराकरणका लागि आवाज बुलन्द गरिएको युनियनका प्रदेश संयोजक प्रदीप काफ्लेले बताए । ‘धेरै साथीको जागिर गैसक्यो । भैरहेकाहरुको पनि ज्ञारेण्टी छैन । तलव खान पाएका छैनन्,’ उनले भने, ‘यस्तो जटिल अवस्थामा पनि सरकार चुपचाप छ । पेशागत संघ संगठनहरुले आवाज उठाएका छैनन् । सरकार र सरोकारवालाको ध्यानाकर्षणकै लागि यो अपिल गरिएको हो ।’

बैठकले पत्रकार स्व. बलराम बानियाँको मृत्युप्रति श्रद्धान्जली ब्यक्त गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेपाल प्रेस यूनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकार महासंघको चुनावको तयारी गर्न सबैलाई निर्देशन दिए । ‘अहिले महासंघको चुनावको मिति तोकिएको छ । अव हाम्रो ध्यान त्यसमा केन्द्रित हुनुपर्छ । आवश्यक रणनीति बनाएर धेरै ठाउँमा जित्ने अवस्था सिर्जना गर्नुस्,’ जिल्ला र प्रदेशलाई निर्देशन दिँदै उनले भने, ‘आवश्यक्ता अनुसार केन्द्रले सहयोग गर्न तयार छ ।’

बैठकमा १० वटा जिल्लाका प्रेस युनियन र पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिले जिल्लागत विवरण प्रश्तुत गरेका थिए । नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, पूर्व उपाध्यक्ष गंगाधर पराजुली लगायतले प्रेस युनियनको सक्रियतामा ख्याल गर्न सुझाए । बैठकको सञ्चालन युनियनका साविक गण्डकी अञ्चल संयोजक टंक अधिकारीले गरेका थिए भने केन्द्रिय सचिव केवी रानाले धन्यवाद दिएका थिए ।

Comments
Loading...