गण्डकी प्रदेशको नाका मुग्लिनमा अस्थाई प्रहरी पोष्ट स्थापना

पोखरा,१३ भदौ । गण्डकी प्रदेश सरकारले प्रदेशको प्रमुख नाका तनहुँको आबुँखैरेनी गाउँपालिका–४ मुग्लिन पुल जिपमा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको छ ।

सो पोष्टको आज गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले उद्घाटन तथा स्थलगत अवलोकन निरीक्षण गरेका छन् ।

मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गर्ने बताउँदै कोरना भाईरसको संक्रमणलाई थप फैलन नदिन सीमा नाकामा हुनुपर्ने चेकिङ लगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान हुने विश्वास व्यक्त गरे ।

प्रदेश अन्तर्गतको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै प्रदेश अन्तर्गत आम नागरिकको सहज पहुँच हुने गरी प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचनाको विकास गर्न गण्डकी प्रदेश सरकार तत्पर रहेको समेत बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने बताए । उनले आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोवल उच्च हुने विश्वास व्यक्त गर्दै प्रदेश अन्तर्गत नेपाल प्रहरीको सेवा विस्तारमा गण्डकी प्रदेश सरकारको तत्परता प्रति आभार व्यक्त गरे ।

कार्यक्रममा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख शसस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

 

Comments
Loading...