कास्कीमा पहिरोमा मृत्यु भएकाको परिवारलाई अष्ट्रेलियाबाट राहत सहयोग

पोखरा,१७ साउन । कास्कीमा पहिरोमा परी मृत्यु भएका १० जनाको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ ।

पोखरा समाज अष्ट्रेलियाले ‘हामी जन्मभूमि र नेपाली समुदायका दुःख आपत्मा सँधै साथमा रहनेछौँ’ भन्ने सन्देश सहित पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो ।

अविरल वर्षाका कारण गएको पहिरोमा परी यस वर्ष जिल्लाका पोखरा महानगरपालिका–१८ सराङकोट, माछापुच्छ«े गाउँपालिका–८ खोराकोमुख, पोखरा–२६ हेमजा झिर्झिका तथा पोखरा–२६ लेखनाथ पैतेडाँडाको पहिरोमा मृत्यु भएका १० जनाको परिवारलाई जनही रु ११ हजार ५०० का दरले राहत प्रदान गरेको हो ।

समाजका अध्यक्ष राजु अधिकारीले सङ्कलन गरी पठाएको रकम पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, अखिल नेपाल फुटबल सङ्घ(एन्फा) गण्डकीका अध्यक्ष धर्मसिँह लामिछाने,नेपाली काङ्ग्रेसका स्थानीय नेता शिव तिमिल्सिना लगायतले मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए ।

पहिरोमा परी सराङकोटमा पाँच, माछापुच्छ«ेमा तीन तथा हेमजा र लेखनाथमा गरी एक÷एक जनाले ज्यान गुमाएका थिए ।पत्रकार महासङ्घ प्रदेशका अध्यक्ष पौडेलले विपद्को घडीमा जन्मभूमिलाई सम्झेर पीडित परिवारलाई मलम पट्टी लगाउने र पीडामा साथ दिने काम गरेकामा समाजलाई धन्यवाद व्यक्त गरे ।

पौडेलले भने,“सात समुन्द्र पारी रहेर पनि आफ्नो जन्मभूमिमा आइलागेको विपत्तिमा प्रभावित परिवारलाई सम्झने र पीडा बाँडेर सहानुभुति प्रदान गर्ने समाजका अध्यक्ष लगायतका सम्पूर्ण समाजप्रति आभार व्यक्त गर्दछु ।”

Comments
Loading...