प्रदेश सरकारद्धारा प्रहरीलाई चार थान पिक अप भ्यान र २८ मोटरसाइकल हस्तान्तरण

पोखरा,१८ साउन । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि चार थान पिक अप भ्यान तथा २८ वटा मोटरसाइकल प्रदान गरेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई आज एक समारोहकाबीच सवारी साधनका चावी हस्तान्तरण गरेका थिए ।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्न सो सवारीले मद्धत पुग्ने बताए ।

शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यलयहरुबाट उल्लेखनीय कार्य भईरहेको बताउँदै मुख्यमन्त्री गुरुङले हस्तान्तरण गरिएका सवारी साधनहरुले प्रहरी काम कारवाहीमा चुष्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता उल्लेख गर्दै सरकार प्रहरी ईकाइहरुलाई स्तरबृद्धि गरी साधनस्रोतले मजबुद बनाउन दृढ रहेको बताए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो संवेदनशिल जिम्मेवारी वहन गर्दै पारदर्शीता, जवाफदेहिता र व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्ने जस्ता प्रहरी कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले सुशासन र शान्ति सुरक्षाको पूर्ण अनुभुति गर्ने नागरिकहरुका चाहना पुरा गराउने कार्यमा प्रदेश सरकारबाट हस्तान्तरण गरिएका उक्त सवारी साधनहरुले सम्पूर्ण प्रहरी कर्मचारीको मनोवल विकास र नागरिक मैत्री प्रहरी सेवा सहितको गुणस्तरीय प्रहरी सेवा प्रदान गर्नमा टेवा पुग्ने बताइन ।

कार्यक्रममा गण्प्रदेश सरकारका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी. लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...