निरमायाँ दोहोरीद्वारा पहिरो पीडित कलाकार प्रशान्तलाई आर्थिक सहयोग

पोखरा,२२ साउन। पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग गरेको छ । निरमायाँमै कार्यरत प्रशान्तलाई लमजुङ पुगेर आर्थिक सहयोग गरिएको हो ।

लमजुङ जिल्लाको राइनास नगरपालिका ५ लोस्से गाउँमा साउन ५ गते गएको पहिरोका कारण प्रशान्तको घर पूर्ण रुपमा क्षति भएपछि उनको दुखमा साथ दिन दोहोरी साँझ पुगेको हो । दोहोरीका संचालक सँगै कर्मचारीले समेत आर्थिक सहयोग गरेको जानकारी गराइएको छ ।

दोहोरीका सञ्चालकहरु सीम गुरुङ, किसन घले, हिरा पुन, जिवन गुरुङ, इन्द्रा पुन र सुरेन्द्र गुरुङबाट एकमुष्ट नगद २५ हजार रुपैयाँ सञ्चालक मध्येका एक पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले पहिरोपीडित प्रशान्त तामाङलाई हस्तान्तरण गरे ।

यसैगरी दोहोरी साँझका कलाकारहरुको तर्फबाट नगद ५ हजार रुपैयाँ र कर्मचारी माया पुनबाट नगद दुई हजार रुपैयाँ प्राप्त रकम निरमायाँ दोहोरी साँझका कलाकार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष टेक क्षेत्रीले हस्तान्तरण गरे । प्रतिष्ठान कास्कीले समेत पाँच हजार रुपैयाँ सहयोग गरेको छ ।

पहिरोका कारण मानविय क्षति नभएको तर भौतिक संरचना भने पूर्ण रुपमा क्षति भएको गायक प्रशान्त तामाङले जानकारी गराए ।पहिरोपीडित परिवारलाई नगरपालिकाले सहयोगको आश्वासन दिएको छ भने राष्ट्रिय युवा संघ सुन्दर बजार एकाईबाट खाद्यन्न, तामाङ घेदुङ महिला संघबाट १५ हजार रुपैयाँ, लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशबाट १० हजार रुपैयाँ, प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङबाट व्यक्तिगत ५ हजार रुपैयाँ, लोकदोहोरी गीत प्रतिष्ठान लमजुङ लगायतका संस्था एंव व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको उनले बताए ।

Comments
Loading...