नेविसंघको रिले अनसन १६ औं दिनसम्म जारी

पोखरा,२३ साउन । लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग राख्दै नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा गरेको रिले अनसन आज १६ औं दिनसम्म पनि जारी छ ।

दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै रिले अनसन गरिएको भए पनि त्यसको कुनै सुनुवाई हुन नसकेको विद्यार्थी नेता प्रताप बानियाले बताए ।

विश्वविद्यालयमा पदाधिकारी नियुक्ति नगर्दा ४० हजार विद्यार्थीको भविष्य पनि अन्यौलमा परेको उल्लेख गर्दै उनले जायज माग सहितको शान्तिपूर्ण आन्दोलनलाई बेवास्था गरिएको बताए ।

अनसनको लामो समयसम्म पनि मागको सुनुवाई नभएको भन्दै विद्यार्थीहरूले ब्यङ्गात्मक रुपमा कुलपति र सहकुलपतिको तस्वीरमा पुष्पार्पण गर्दै बिरोध समेत जनाए ।

पदाधिकारी नियुक्ति नहुँदा विश्वविद्यालयका शैक्षिक गतिविधि प्रभावित बनिरहेको अवस्थामा जायज माग सहित विद्यार्थी अनसनमा रहेको र नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पनि शिक्षामन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराइसकेको संघका केन्द्रीय महामन्त्री दीपक भट्टराईले बताए ।

लामो समयसम्मको पदाधिकारी विहिन अवस्थामा सरकारले उदाशिनता देखाएको बताउँदै उनले तत्काल समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

Comments
Loading...