प्रहरी सङ्गठनको भौतिक विकास सरकारको प्राथमिकता : मुख्यमन्त्री गुरुङ

पोखरा,२४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी सङ्गठनको साङ्गठनिक तथा भौतिक विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरुको आज निरीक्षण तथा सो तालिम केन्द्रको गुरुयोजनाका बारेमा जानकारी लिँदै उहाँले तालिम केन्द्रलाई आवश्यक सहयोग तथा समन्वयका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।
तालिम केन्द्रलाई सुविधासम्पन्न एवं पूर्वाधारयुक्त देशकै नमूना तालिम केन्द्रका रुपमा स्थापना गरी थप विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सक्ने गरी निर्माण कार्य अघि बढाउन समेत मुख्यमन्त्री गुरुङले आग्रह गरे ।

प्रहरी तालिम केन्द्र गण्डकीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले हाल तालिम केन्द्रको निर्माणमा भईरहेका विविध गतिविधिहरु, विभिन्न विधाका प्रशिक्षणहरु, निर्माणाधीन भौतिक संरचना, तालिम केन्द्र संचालनका लागि तत्काल आवश्यक स्रोत साधन लगायतका विषयमा मुख्यमन्त्री गुरुङ तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलाई जानकारी गराएका थिए ।

ज्ञान, कला, कौशल र सीपले भरिपूर्ण प्रहरी कर्मचारीहरु उत्पादन गर्ने तथा अन्तराष्ट्रियस्तरको नमूना प्रहरी तालिम केन्द्रका रुपमा सो केन्द्रलाई स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार तथा प्रदेश सरकार लगायतका सरोकारवाला निकायहरुको भूमिकाका विषयमा छलफल तथा अन्तरक्रिया गरी आगामी कार्ययोजना गरिने प्रहरी वरिष्ठ उपरीक्षक लोहनीले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल लगायतले तालिम केन्द्रको निरीक्षण तथा निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिएका थिए ।

Comments
Loading...