क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य : सभापति कोइराला

पोखरा,२५ साउन। गण्डकी प्रदेश सभाअन्तरगतको अर्थ तथाविकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य हुने बताएका छन् ।

पोखरा महानगरपालिका–२८ माँझठानामा अवस्थित रोलाखोला र ढोडेनी खोला झरना,क्यानुनिङ लगायतका साहसिक खेलको पर्यटन गन्तव्य स्थलको लागि महत्वपूर्ण ठाउँ रहेको बताए ।

त्यहाँ रहेको झरनामा आफैले आइतबार क्यानोनिङ गरेपछि सभापति कोइरालाले लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दे प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए । सभापति कोइरालाले त्यस ठाउँको विकासको लागि आफुले विशेष पहल गर्नेपनि स्पष्ट पारे ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले भुर्तेल गाउँ र बास्तोला गाउँमा रहेको अत्यन्तै रमणीय रोला खोला र ढोडेनी खोला झरना,क्यानोनिङ लगायतका साहसिक खेलको लागि उत्तम रहेको बताउँदै त्यस क्षेत्रको विकासको लागि आफुले समन्वय गर्ने जनाए । साहसिक पर्यटनमा रुचि राख्नेहरुको लागि पोखरा महानगरभित्रै रहेको क्यानोनिङ आर्कषर्णको नयाँ गन्तब्य हुने वडानं २८ का वडाध्यक्ष निर्मल दियालीको भनाई छ ।

अन्दाजी ६० मिटर अग्लो रहेको झरनाबाट अहिले सम्म दुईसय जनाले क्यानोनिङ गरेको क्यानोनिङ मास्टर रोशन त्रिपाठीले जानकारी दिए । विसं २०७५ सालदेखि त्यहाँ बाट क्यानोनिङ हुने गरेको भएपनि अहिले लकडाउनसंगै चर्चामा आएको त्रिपाठीको भनाई छ । नेपालमा कास्की, लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा क्यानोनिङ गरिँदै आएको छ ।

Comments
Loading...