पहिराले पधेँरो पुरे पछि बरमाझथरमा खानेपानी समस्या

पोखरा , २५ साउन । लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथरस्थित कटुजे पँधेरो पहिरोका कारण पुरिदा यहाँका सर्वसाधारण समस्यामा परेका छन् ।

असारको पहिलो सातामा पानीको मुहानमा गएको पहिरोले खानेपानीको स्रोत नै थुनेको र त्यस यताको लगातारको बाढीले पटक पटक क्षति पु¥याए पछि एक महिनादेखि खानेपानी आपूर्तिमा समस्या परेको स्थानीयवासी एवम् शिशुकल्याण माध्यमिक विद्यालय भरतपोखरीका शिक्षक सुदन पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार परापूर्व कालदेखि कटुजे पँधेरोबाट यहाँका पाण्डेबारी, माझथर, हुँडिकोट, मासबारी लगायत स्थानका ६० भन्दा बढी घरधुरीले उपयोग गर्दै आएका छन् । पिउने पानीका साथै पशुबस्तुका लागि यहीँको पानी उपयोग हुँदै आएको थियो ।

कटुजेमा उपल्लो र तल्लो गरी पानीका दुईवटा मुहान रहेकोमा दुईवटै पहिरोले पुरेको अर्का स्थानीयवासी एवम् चण्डी माध्यमिक विद्यालयका शिक्षक कमलप्रसाद पौडेलले बताए ।

पँधेरोमा भएको क्षति र यसले सर्वसाधारणको दैनिकीमा पारेको समस्या बारे स्थानीय तहमा जानकारी गराइसकिएको उल्लेख गर्दै उनले यथासक्य चाँडो पहिरो पन्छाएर खानेपानी आपूर्ति सुचारु गर्नुपर्ने बताए ।

Comments
Loading...