जनप्रतिनिधि सहित सार्दिखोलाका ३१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

पोखरा,२७ साउन । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाका ३१ जनाकै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ(कोरोना नभएको) आएको छ ।

गत साउन २५ गते वडाध्यक्ष विक्रम गुरुङ सहितका जनप्रतिनिधि, वडा कार्यालय, विद्यालय, प्रहरी चौकी, सहकारीका कर्मचारी, व्यापारी तथा स्थानीय गरी ३१ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा सबैको नतिजा नेगेटिभ आएको हो ।

वडाध्यक्ष विक्रम गुरुङले प्रहरी, रेष्टुरेन्ट व्यवसायी, हाइड्रोे, हाइड्रो मजदूर तथा भीडभाडमा काम गर्नेहरुलाई छानेर स्वाब संकलन गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि वडा हालसम्म सुरक्षित रहेको बताए ।

वडाध्यक्ष गुरुङले भने,“सार्दिखोला हालसम्म कोरोनामुक्त भएर सुरक्षित रहेको छ, अत्यावश्यक काममा जानुपर्नेहरु आवश्यक स्वास्थ्य सावधानी अपनाएर दैनिक काममा निस्कन तथा अत्यावश्यक नभएकाहरुलाई घरमै बस्न आग्रह गर्दछु ।”

सार्दिखोला स्वास्थ्य चौकीका इन्चार्ज अनिता घिमिरेले अहिलेपनि कोरोना संक्रमणको दर उच्च रहेको र  वडासँग सिमाना जोडिएका क्षेत्रमा संक्रमण देखा परेकाले सार्दिखोलावासीलाई विशेष सावधानी अपनाउन गर्दै स्वास्थ्य समस्या देखिएकामा स्वास्थ्यचौकीमा सम्पर्क राख्न अनुरोध गरेकी छन् ।

Comments
Loading...