वडा सदस्य गुरुङलाई निलम्बन गर्न काँग्रेसको माग

पोखरा, २८ साउन । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २१ ले पोखरा २१ का वडा सदस्य रामबहादुर गुरुङलाई तत्काल पदबाट निलम्वन गर्न माग गरेको छ ।

वडा कार्यसमितिको तर्फबाट सभापति केवल गिरीले वडाध्यक्ष खगराज आचार्यलाई ज्ञापनपत्र बुझाउँदै वडा सदस्य गुरुङलाई निलम्बन गर्न माग गरेका हुन् । काँग्रेसले आवश्यक अनुसन्धान अघि बढाइ अपराध बमोजिमको कानूनी कारवाही गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा सार्वजनिक भएको संवाद रेकर्डकै आधारमा पनि उनी कानूनी र चारित्रिक दुवै दृष्टिले पदमा रहिरहन नमिल्ने जनाइएको छ ।
वडा सदस्य रामबहादुर गुरूङ (कमल) र एक उपभोक्ता समितिका अध्यक्षबीच बाटोको फरफारक सम्बन्धि कुराकानीको अडियो रेकर्ड सार्वजनिक हुँदा वडा सदस्य गुरूङले नगद एक लाख रूपैया घुस लिई योजना फरफारक, मूल्यांकन गर्न सकिने अन्यथा नसकिने बताएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

उपभोक्ता समितिका अध्यक्ष र परिवारलाई जिउँज्यानको धम्की समेत दिएको सुनिन्छ, ज्ञापनपत्रमा भनिएको छ– यसबाट अध्यक्ष र उनका परिवार असुरक्षित देखिएकाले सुरक्षाको प्रवन्ध गरियोस्।

ज्ञापनपत्रमा जनता माथि यसै गरी अपराध गर्दै जाने र अपराध लुकाउदै जाने देखिएमा जुनसुकै आन्दोलनका कार्यक्रम सहित अगाडि बढ्ने चेतावनी समेत दिइएको छ ।

Comments
Loading...