पोखरामा स्कुटर चोरी गर्दै गर्दा तीन जना पक्राउ, चोरिएका तीन स्कुटर बरामद

पोखरा,२९ साउन ।  प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा सङ्लग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा साबिक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य दुई जना १५ वर्षीय किशोर छन् । दुई जनाको परिचय प्रहरीले गोप्य राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

बुधबार विहान १ बजेको समयमा फूलबारीमा स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । पक्राउ पछि अनुसन्धान गर्ने क्रममा अन्य थप दुई वटा चोरीको स्कुटर समेत बरामद भएको  प्रहरीले जनाएको छ ।

प्रहरीले साउन २५ गते पोखरा–४ गणेशटोल स्थित सुकमाया कामीको घरको कम्पाउण्डबाट चोरी भएको ज्ञान कुमारी गुरुङकोे ग ६ प ६३४२ नम्बरको रातो डियो स्कुटर पोखरा–१२ फूलबारी सफामार्गमा फेला पारेको थियो ।

त्यसैगरी साउन २६ गते  राति पोखरा–४ रामकृष्ण टोलबाट चोरी भएको धनमाया गुरुङको नामको ग १७ प ३०५१ नम्बरको रातो डियो स्कुटर र साउन २७ गते राति १२ः३० बजेको समयमा पोखरा–११ प्रगतिटोलबाट हराएको सिर्जना मल्ल ठकुरीकोे ग ५ प ३९१५ नम्बरको निलो डियो स्कुटर पोखरा–२६ बुढीबजारबाट बरामद गरिएको प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।

पोखरा उपत्यका र आसपासबाट विभिन्न समय र स्थानबाट मोटरसाईकल र स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत ईलाका प्रहरी कार्यालय, सिसुवाबाट प्रहरी टोली खटिई खोजतलास तथा अनुसन्धानको शुरु गरेको थियो ।

पक्राउ परेकाहरुको साथबाट चोरीका पाँच थान मोबाईल सेट फेला परेको बताइन्छ । उनीहरुलाई चोरी तथा डाँका कसूर अन्तर्गत जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी प्रहरीले जनाएको छ ।

Comments
Loading...