कोरोना सङ्क्रमणको जोखिममा वित्तिय संस्था :  कास्कीका सबै सहकारीको घरदैलो(मार्केटिङ) सेवा बन्द

पोखरा,२९ साउन । पछिल्ला केही दिनयता जिल्लामा कोरोना सङ्क्रमण बढेपछि जिल्लाका सबै सहकारी संस्थाले प्रदान गर्दै आएको घरदैलो सेवा बन्द गर्ने भएका छन् ।

वित्तिय संस्थाका कर्मचारीमा समेत सङ्क्रमण देखिन थालेको तथा सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला सहकारी सङ्घ लिमिटेड कास्कीले आज सूचना जारी गरी सबै सहकारीलाई संस्थाबाट दिइरहेको घरदैलो सेवा(मार्केटिङ) बन्द गरी अन्य सेवा सुचारु गर्न संघका अध्यक्ष रविरमण तिवारीद्धारा जारी सूचनामा आग्रह गरिएको छ ।

जिल्लामा समेत दिनप्रतिदिन सङ्क्रमण बढ्दै गएको तथा त्यसको प्रभाव प्रत्यक्ष रुपमा सहकारी संस्थाहरुमा समेत परेको र सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनुसार कारोबार सञ्चालन गर्ने र केही समयका लागि सो सेवा बन्द गर्र्ने निर्णय गरेर सबै संस्थालाई कार्यान्वयनका लागि आग्रह गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष बलराम गौतमले जानकारी दिए ।

साथै सङ्घले सहकारीका अन्य सेवा पूर्ववत रुपमा सञ्चालन गर्न तथा कर्मचारी र सदस्यहरुको कोरोना बीमा गराउन र भीडभाड हुने गरी कुनै पनि कार्यक्रम नगर्र्न निर्देशन दिएको छ । सङ्घमा ३५२ सहकारी संस्था आवद्ध रहेका छन् ।

त्यसैगरी कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले समेत आज एक सूचना जारी गरी हालको विषम् परिस्थितिमा सहकारी संस्थाहरुले सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्नु चूनौती रहेको जनाउँदै सहकारी संस्थाहरुले प्रदान गर्ने घरदैलो सेवा बन्द गरी अन्य सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

नेपाल सरकार तथा स्थानीय प्रशासनले निर्देश गरेकोे सुरक्षा मापदण्डलाई समेत कडाईका साथ पालना गर्न÷गराउन आग्रह गरेको क्लबका अध्यक्ष डम्बरसिँह बस्नेतले बताए ।

Comments
Loading...